समाज

पृथ्वी आफ्नो अक्षमा छिटो घुम्दा वैज्ञानिक चिन्तित

कम्प्युटर, उपग्रह र सञ्चार प्रणालीमा असर पर्न सक्ने वैज्ञानिक दावी

एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

दिनको सरदर अवधी केही घट्ने गरी यसपटकको गर्मीयाममा पृथ्वी आफ्नो अक्षमा छिटो गतिमा घुमेको पाइएको छ।

यो प्रक्रियाले वैज्ञानिक तथा समय नियामक गर्ने निकायको ध्यान आकृष्ट गरेको छ। साढे २ दशक अगाढि विश्वभरका कम्युटर प्रणालीमा ‘वाइ–२–के बग’ संकटले आधुनिक सभ्यतानै अवरुद्ध गराउन सक्ने संघारमा पुर्‍याएजस्तै यो गढबढीको कारण ‘त्यही स्तरको परिदृश्य’ सिर्जना हुने केही विज्ञको मत छ।

जुलाई १० यसबर्षको सबैभन्दा छोटो दिन थियो। उक्त दिन २४ घण्टाभन्दा १.३६ मिलिसेकेन्डले छोटो रहेको दुई वैज्ञानिक निकायलाई उद्धृत गर्दै टाइम–एण्ड–डेट–डटकमले जनाएको छ। यसैगरी यो वर्षको जुलाई २२ र अगस्त ५ क्रमश १.३४ र १.२५ मिलिसेकेन्डले छोटो हुने भविष्यवाणी गरिएको छ।

एक दिनको लम्बाइ भन्नाले पृथ्वीले आफ्नो अक्षमा एक चक्कर घुम्न लाग्ने समयलाई जनाउँछ। यो औसतमा २४ घण्टा वा ८६,४०० सेकेन्ड हुन्छ। तर वास्तवमा पृथ्वीको प्रत्येक घुमाइ सधैं एकनास हुँदैन– यसमा चन्द्रमाको गुरुत्वाकर्षण, मौसमजन्य परिवर्तनहरू र पृथ्वीको भित्री भागमा रहेको तातो तरल पदार्थको प्रभावले केही मात्रामा फरक पर्छ।

यी सूक्ष्म भिन्नताले दैनिक जीवनमा ठूलो असर नगरे पनि, लामो अवधिमा यसले कम्प्युटर, उपग्रह र सञ्चार प्रणालीहरूमा असर पार्न सक्ने वैज्ञानिक मान्छन्। त्यही कारणले अत्यन्तै सानो तहमा समयमा हुने परिवर्तनलाई अणुघडी (एटोमिक क्लक) को माध्यमबाट मापन गरिन्छ।

सन्  १९५५ देखि अणुघडीको प्रयोग हुदै आएको छ। ‘भ्याकुम च्याम्बर’ मा राखिएका अणुघडीले अणुको कम्पन समेत मापन गर्ने गरी समयको सटीकता सुनिश्चित गर्छन्।

यसबाट प्राप्त समयलाई कोअर्डिनेटेड युनिभर्सल टाइम (यूटिसी) भनिन्छ, यसलाई लगभग ४५० अणुघडीको आधारमा गणना गरिन्छ र यो विश्वव्यापी मानक हो। त्यही आधारमा विश्वभरका फोन र कम्युटरको समय मिलाइएको हुन्छ।

यसैगरी, खगोलशास्त्रीहरूले पृथ्वीको घुमाइलाई आकाशमा रहेका स्थिर ताराको अवश्था हेरेर पनि अनुगमन गर्छन्। रेकर्ड राख्न सुरुगरेदेखि यताको अहिलेसम्मकै सबैभन्दा छोटो दिन सन् २०२४ को जुलाई ५ मानिन्छ। उक्त दिन १.६६ मिलिसेकेन्डले छोटो थियो।

‘पृथ्वी १९७२ देखि पृथ्वी अलि छिटो घुम्न थालेको छ, तर यो स्टक मार्केट जस्तै हो, कहिलेकाहीँ उकालो लाग्छ, कहिलेकाहीँ ओरालो,’ क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका भूभौतिकविद् डन्कन एग्न्यू भन्छन्।

पृथ्वी लगातार ढिलो घुम्न थालेपछि सन् १९७२ मा ‘इन्टरनेशनल अर्थ रोटेसन एण्ड रेफेरेन्स सिस्टम’ नामक वैज्ञानिक संस्थाले युटीसीमा पहिलोपटक ‘लीप सेकेन्ड’ थप्ने निर्णय गरेको थियो। यो गेग्रोरियन पात्रो र सुर्यको बरिपरी एक फन्को लगाउन पृथ्वीलाई लाग्ने समयबीचको फरक मिलाउन प्रत्येक चार बर्षमा फेब्रुअरीमा एक अतिरिक्त दिन थपिएर ‘लिप एयर’ बनेजस्तै समान प्रक्रिया हो।

सन् १९७२ यता २७ वटा लीप सेकेन्ड थपिएका छन्, तर पछिल्ला वर्षहरूमा पृथ्वी छिटो घुम्न थालेपछि थप्ने दर घट्दै गएको छ। सन् २०१६ यता कुनै पनि नयाँ लीप सेकेन्ड थपिएको छैन।

सन् २०२२ मा अन्तर्राष्ट्रिय तौल तथा मापन सम्मेलन (सिजिपिएम) ले २०३५ पछि लीप सेकेन्ड नथप्ने निर्णय गरेको थियो। तर अहिलेको गतिमा यदि पृथ्वी अझ छिटो छिटो घुम्न थाल्यो भने एक सेकेण्ड थप्ने नभै हटाउन पर्ने अवश्था आउने एग्न्यूको तर्क छ।

‘यसरी क्रृणात्मक लिप सेकेण्ड अहिलेसम्म कहिल्यै भएको थिएन, तर  २०३५ भित्र यो हुने सम्भावना ४० प्रतिशत छ, ’ उनी भन्छन्।

नेशनल इन्सिच्यूट अफ स्टान्डर्ड एण्ड टेक्नोलोजीका भौतीकशासत्री  यहूदा लेविनका अनुसार जलवायु परिवर्तनले पृथ्वीको घुमाइमा अप्रत्याशित भूमिका खेलेको छ। दक्षिणी ध्रुव र ग्रिनल्याण्डको हिउँ पग्लँदा समुद्रमा पानी फैलिएको छ, जसले पृथ्वीको गति ढिलो बनाइरहेको छ। ‘यदि विश्वव्यापी तापमान वृद्धि नभएको भए, हामी अहिले नै क्रृणात्मक लिप सेकेण्डको सामना गरिरहेका हुन्थ्यौं,’ लेविन भन्छन्।

पृथ्वीको घुमाइ मात्र होइन, पग्लिएको हिउँले पृथ्वीको अक्ष पनि परिवर्तन गरिरहेको अनुसन्धानहरूले देखाएका छन्।

‘शताव्दीदेखि चन्द्रमाले पृथ्वीको घुमाइमा प्रमुख भूमिका खेलेको थियो, ‘तर यो शताब्दीको अन्त्यसम्म, जलवायु परिवर्तनको प्रभाव त्योभन्दा ठूलो हुन सक्छ,’ स्विट्जरल्याण्डको इटिएच जुरिचका बेनेडिक्ट सोजा भन्छन्।

-सिएनएन र एजेन्सीको सहयोगमा

प्रकाशित: ६ श्रावण २०८२ १६:५३ मंगलबार