समाज

भोजपुरका विद्यालय : प्राविधिक शिक्षामार्फत रोजगारीको बाटो रोज्दै

भोजपुरका सामुदायिक विद्यालयले प्राविधिक शिक्षामा जोड दिएका छन्। शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो।  

भोजपुरका अधिकांश माध्यमिक तहका सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिंदै आएका छन्। प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको छ।  

यहाँका पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत अधिकांश विद्यालयले प्राविधिक शिक्षा दिंदै आएका छन्। यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले शिक्षालाई व्यावहारिक र समय सुहाउँदो बनाउन प्रविधिमैत्री अभ्यासमूलक शिक्षणमा जोड दिंदै आएको बताए। यसले हरेक विद्यार्थीलाई स्वरोजगार बन्न सहयोग पुग्ने उनले बताए।  

राज्यको नीतिअनुसार नै जिल्लाका अधिकांश माध्यमिक तहका सामुदायिक विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएको प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए। ‘सामुदायिक विद्यालयले प्राविधिकसँगै व्यावहारिक शिक्षामा जोड दिंदै आएका छौं,’ उनले भने, ‘समयको आवश्यकताअनुसार प्राविधिक शिक्षामा जोड दिनु अपरिहार्य छ। यस्तो शिक्षाले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नेछ।’  

पञ्चकन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकराज भट्टराईले शिक्षालाई परम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन प्रविधिमैत्री शिक्षामा जोड दिइएको बताए।  

बिस्तारै विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको छ। केही समयअघि सार्वजनिक कक्षा १२ को नतिजामा परीक्षामा सामेल भएका ६० विद्यार्थीमध्ये ४९ जना प्राविधिक धार र ११ जना साधारण धारतर्फका उत्तीर्ण भएको भट्टराईले बताए। विद्यार्थीलाई अभ्यासका लागि विद्यालय परिसर तथा ‘लिज’मा जग्गा लिएर विभिन्न तरकारीखेती गरिएको छ। विद्यार्थीले अकबरे खुर्सानी, च्याउ, टमाटरखेती, आधुनिक तरिकाबाट धान, मकैखेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिंदै आएका छन्। रासस

प्रकाशित: २ आश्विन २०८२ ०७:१० बिहीबार