नेपालगन्ज उपमहानगरपालिकाले आज (भदौ २४ गते) का लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा महाशाखाबाट जारी सूचना अनुसार विद्यार्थीलाई साथीभाइसँग बाहिर नजान र आफ्ना अभिभावकसँगै घरमै बस्न आग्रह गरिएको छ।
सूचनामा भनिएको छ, ‘सबै विद्यालयले विद्यार्थीलाई साथीभाइको लहैलहैमा नगई आफ्नै घरमा अभिभावकसँग बस्ने व्यवस्था मिलाउनुहोस्।’ यसअन्तर्गत आज पठनपाठन पूर्णरूपमा बन्द हुनेछ। तर विद्यालयका शिक्षक भने अनिवार्य रूपमा आफ्नो विद्यालयमा उपस्थित हुनुपर्नेछ। शिक्षकले विद्यालयमा गएर आन्तरिक कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको सूचना अधिकारी तथा शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीले जानकारी दिए।
यसअघि पनि नेपालगन्ज उपमहानगरपालिकाले आवश्यकताअनुसार विद्यालय बिदा दिने वा आन्तरिक कार्यका लागि शिक्षकलाई उपस्थित गराउने निर्णय गर्दै आएको छ।
प्रकाशित: २४ भाद्र २०८२ ०९:०३ मंगलबार