समाज

सप्तकोसी बोट दुर्घटना: मृतक एक जनाको पहिचान खुल्यो, तीन जना अझै बेपत्ता

धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बस्ने अन्दाजी ५२ वर्षीया लिला राई रहेकी छन्। दुर्घटनालगत्तै उद्धार गरिएकी राईको चतारा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ज्यान गुमाएका अन्य दुई जनाको भने पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा तीन जना यात्रु अझै बेपत्ता छन्। बेपत्ता हुनेहरूमा झापाको कन्काई नगरपालिका-४ बस्ने सात वर्षीय बालक शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका-१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई रहेका छन्। बेपत्ता बालक सकुशल उद्धार गरिएकी २९ वर्षीया निता मगरका छोरा हुन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका बोट चालकसहित नौ जनाको भने सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामा बोट चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बस्ने २४ वर्षीय सुमन मगर रहेका छन्।

त्यसैगरी सकुशल रहेका अन्य यात्रुहरूमा भोजपुरको हतुवागढी गाउँपालिका-४ का ४५ वर्षीय विष्णु सुनार, ४२ वर्षीया तिर्था रसाइली सुनार, २५ वर्षीया पूजा तिरुवा, २२ वर्षीय प्रज्वल तिरुवा, २६ वर्षीय देवेन्द्र राई, २३ वर्षीय रञ्जित राई, ३१ वर्षीय मोहन सुनार तथा झापाको कन्काई नगरपालिका-४ की २९ वर्षीया निता मगर छन्।

बेपत्ताहरूको खोजी र घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ८ कार्तिक २०८३ २२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App