भरपर्दो उपचार सेवा नहुँदा बाहिर रेफर हुनुपर्ने लामो समयदेखिको समस्या झेल्दै आएका दाङबासीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने सरकारी निर्णयले दाङ जिल्ला ‘स्वास्थ्य हब’ बन्ने ठुलो आशा जगायो। यो अपेक्षा साविक राप्तीकै नागरिकमा थियो, तर प्रतिष्ठानले नागरिकको अपेक्षाकृत स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको गुनासो आमनागरिकबाट कायमै रह्यो, अहिले पनि कायमै छ।
जिल्लामा विशिष्टीकृत उपचार सेवासहित सञ्चालनमा आएको एउटा नयाँ अस्पताल ‘स्वास्थ्य हब’ कोे आधारस्तम्भका रूपमा ठडिएको छ। विशिष्टीकृत सेवासहित सञ्चालनमा आएको सञ्जीवनी टिचिङ हस्पिटल लिमिटेड गम्भीर प्रकृतिका बिरामीको भरपर्दो निदान थलो बनेको छ।
जिल्लाका अन्य अस्पतालबाट बाहिर रेफर हुनुपर्ने बिरामी यसै अस्पातालमा रेफर हुँदै आएका छन्। ‘हामी कसरी भरपर्दो र विशिष्टीकृत सेवा प्रदान गर्ने भन्ने विषयमा गम्भीर रहँदै आएका छौं’, यो हस्पिटलका कार्यकारी प्रमुख दीपक रोकाले भने, ‘गम्भीर प्रकृतिका बिरामीलाई पनि हामीले यसै अस्पतालबाट सेवा दिनुपर्छ भन्ने दृढताका साथ त्यो खालको सेवा प्रवाह गरिरहेका छौं, यसैको परिणाम जिल्लाका अन्य अस्पतालबाट रेफर भएका बिरामी हाम्रो अस्पतालमा आइरहनुभएको छ।’
घोराही उपमहानगरपालिका– ३ बर्गदुवामा २०८२ माघ २८ देखि सञ्चालनमा आएको तीन सय शड्ढयाको यो अस्पतालले विशेषज्ञ सेवासहित विशिष्टीकृत सेवा प्रवाह गर्दै आएको छ। ‘जिल्लाका अस्पतालहरूमा विशेषज्ञ सेवा भए पनि विशिष्टीकृत सेवा भने नभएको अवस्था हो’, रोकाले भने, ‘हामीले यो अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालनमा ल्याएका छौं।’
उनका अनुसार विशिष्टीकृत सेवाअन्तर्गत न्युरो सर्जरी, मुत्ररोग (युरोलोजी), मुटुरोग (कार्डियोलोजी) सेवा यो अस्पतालले प्रदान गर्दै आएको छ। यी सेवा जिल्लामा यसअघि थिएनन्। फलतः यस्ता समस्या भएका नागरिकहरूको उपचारका लागि बाहिर रेफर हुनैपथ्र्यो। अत्याधुनिक ल्याबसहित सिटी स्क्यान, महिलाको स्तन क्यान्सर पत्ता लगाउने लगायत उच्च प्रविधिद्वारा उपचार गर्दै आएको यो अस्पतालका कार्यकारी प्रमुख रोका भन्छन्, ‘हामीले सामान्य रोगका बिरामीसँगै जटिल प्रकृतिका बिरामीको समेत उपचार सेवा प्रदान गर्दै आएका छौं, अझ विशेष गरी हामीले यहाँबाट रेफर हुँदै आएका न्युरो, मुत्ररोग, मुटुरोगका जटिल खालका रोगको उपचार सेवा दिइरहेका छौं।’
गम्भीर प्रकृतिका बिरामीको उपचारलाई प्राथमिकतामा राखेको यो अस्पतालले क्रिटिकल केयरअन्तर्गत मात्रै ६० बेड राखेको छ। रोकाका अनुसार यो सेवाका लागि राखिएको यो बेड संख्या काठमाडौंभन्दा बाहिरका अस्पतालमध्ये सबैभन्दा धेरै हो।
६० जना विशेषज्ञ चिकित्सकको व्यवस्थापनसहित सञ्चालनमा आएको यो अस्पतालले आकस्मिक घटनाका घाइतेहरूको उपचारलाई पनि प्राथमिकतामा राखेको छ। कुनै सवारी साधन दुर्घटना भए एकैपटक एक सय ५० जनालाई आपत्कालीन उपचार सेवा दिने ल्याकत यो अस्पतालले राख्छ।
यसैगरी यो अस्पतालले साविकको राप्तीमै पहिलोपटक सुविधासम्पन्न शल्यक्रिया सेवा प्रारम्भ गरेको जनाएको छ। ‘मोडुलर ओटी साविक राप्तीमै छैन। यो अति सुविधासम्पन्न शल्यक्रिया सेवा हो’, रोका भन्छन्, ‘उच्च प्रविधिसहित बिरामीलाई कुनै पनि इन्फेक्सन नहोओस् भनेर यहाँ बिरामीलाई अति सुरक्षित राख्न सकिन्छ।’
न्युरो, अर्थोपेडिक्स, इनटी, जनरल सर्जरीका लागि १० जना सर्जन डाक्टरहरूको व्यवस्थापन गरेको यो अस्पतालले ब्लड बैंकको समेत व्यवस्थापन अस्पताल हाताभित्रै गरेको छ। ‘बिरामीलाई रगत चाहिएपछि रगतका लागि कतिपय मान्छेहरू भौंतारिएको हामीले देखेका, भोगेका छौं’, उनले भने, ‘तर हामीले रगतका लागि बिरामीलाई समस्या नहोओस् भनेर अस्पतालभित्रै रगत व्यवस्थापन गर्न ब्लड बैंक स्थापनासमेत गरेका छौं।’
विशिष्टीकृत उपचार सेवालाई प्राथमिकतामा राखेको यो अस्पतालले उपचार शुल्कलाई समेत सबै बिरामी अनुकुल हुने गरी निर्धारण गरिएको जनाएको छ।
अझ विपन्न बिरामीलाई त सहुलियतसमेत दिने गरिएको रोका बताउँछन्। उपचार सेवा शुल्कमा समेत अन्य अस्पतालसरह नै रहेको दाबी यो अस्पतालको छ। उसले अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको नाम दर्ता निःशुल्क गर्दै आएको क्षेत्री बताउँछन्। ‘स्थानीय तह र जिल्ला प्रशासनबाट विपन्न वर्गको सिफारिस लिएर आएमा हामीले यस्ता बिरामीलाई सम्पूर्ण उपचार सेवा निःशुल्क रूपमा दिन्छौं’, रोका भन्छन्, ‘स्वास्थ्य सेवालाई विपन्न वर्गसम्म पुर्याउने हाम्रो लक्ष्य पनि हो।’
टिचिङ हस्पिटलका रूपमा रहेको यो अस्पतालले चिकित्सा शिक्षा पठनपाठनको कार्यक्रमको तयारीसमेत गरिरहेको छ। आगामी शैक्षिक सत्र २०८४ देखि पिसिएल र बिए तहको नर्सिङ तथा फार्मेसी कक्षा सञ्चालन गर्ने भएको छ भने तीन वर्षपछि एमबिबिएस र बिडिएस कक्षासमेत सञ्चालन गर्ने भएको छ।
‘तीन सय शय्याको अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्रै एमबिबिएस र बिडिएस कक्षा सञ्चालन गर्न पाउने व्यवस्था छ’, उनले भने, ‘सोही व्यवस्थाअनुसार ती कक्षा आगामी तीन वर्षपछि सञ्चालनमा आउनेछन्।’
उपचार शुल्कमा समेत सहजता प्रदान गर्दै आएको यो अस्पतालले बिरामीका लागि निःशुल्क यातायात सेवासमेत सञ्चालन गरिरहेको छ। देउखुरी क्षेत्र, तुलसीपुर र घोराही क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुर्याउन निःशुल्क रूपमा पालैपालो बस सञ्चालन गरिएको अस्पातालका कार्यकारी प्रमुख रोका बताउँछन्।
दाङसहित साविक राप्तीका जिल्लाबाट समेत बिरामीको संख्या यो अस्पतालमा बढ्दै गएको उनी बताउँछन्। स्याङ्जाका खुमप्रसाद अर्याल अध्यक्ष रहेको यो अस्पताल जिल्लामा हुँदै आएको रेफरलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको थियो। अर्याल, रोकासहितले यो स्तरको अस्पताल सञ्चालनका लागि स्थान पहिचान गरिरहेका थिए। फलतः जिल्लाका बिरामीले विशिष्टीकृत सेवा नपाएका कारण बाहिर रेफर हुनु परिरहेको अवस्था देखिएपछि उनीहरूले दाङलाई अस्पताल सञ्चालनको थलो रोजेका हुन्।
प्रकाशित: ५ भाद्र २०८३ १०:३४ शुक्रबार