वीरगंजको गण्डकमा रहेको एक रिसोर्टमा संचालित क्यासिनोबाट पर्साका गाउँपालिका अध्यक्षसहित ७ जनालाई पर्सा प्रहरीले शनिबार राति पक्राउ गरेको छ।
क्लार्क रिसोर्टमा संचालित गोल्डेन फिगर क्यासिनोबाट सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष जसवन्त यादवसहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले बताएका छन्। गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो चढेर यादव क्यासिनो पुगेको मल्लले बताए।
सरकारी सवारीसाधन प्रयोग गरी जनप्रतिनिधि क्यासिनो परिसरमा पुगेको विषयलाई गम्भीर रूपमा लिएको मल्लले बताए।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न प्रतिबन्ध रहेको अवस्थामा गाउँपालिका अध्यक्ष सरकारी सवारी साधनसहित क्यासिनोमा कसरी प्रवेश पाए भन्ने अनुसन्धानको विषय भएको उनले बताए।
यादवसहित पक्राउ परेकाहरूको विवरण अदालतबाट म्याद थप सार्वजनिक गरिने जानकारी पर्सा प्रहरीले दिएको छ।
प्रकाशित: २१ भाद्र २०८३ ०७:४८ आइतबार