समाज

हुम्लाको लिमीमा फेरि बाढी, काठे पुल बगायो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६, लिमीमा अविरल वर्षापछि फेरि बाढी आएको छ।

बाढीले एउटा काठे पुल बगाएको प्रारम्भिक जानकारी आएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार, आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण लिमीको खोलामा पानीको सतह बढेर बाढी आएको अनुमान गरिएको छ।

प्रजिअ पाण्डेयले भने ‘बाढीले खोलामा रहेको एउटा सानो काठे पुल बगाएको हामीलाई वडाध्यक्षज्यूबाट प्रारम्भिक जानकारी आएको छ। तर, मानवीय र अन्य ठूलो भौतिक क्षतिको जानकारी छैन।’

उनले खोलाभन्दा तल रहेका बस्तीहरू तत्काल जोखिममा नरहेको जानकारी पनि प्राप्त भएको बताए। जिल्ला सदरमुकाम सिमकोटमा पनि आइतबार बिहानैदेखि पानी परिरहेकोले वर्षाकै कारण बाढी आएको अनुमान गरिएको छ।

लिमी क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेको छ। यसअघि गत जेठ १ गते आएको भीषण बाढीपहिरोले तिल गाउँका १९ परिवारका ३३ जनालाई विस्थापित बनाएको थियो।

उनीहरू हालसम्म पनि त्रिपालमुनि नै बस्दै आएका छन्। बारम्बारको प्राकृतिक प्रकोपले लिमीका बासिन्दाको जनजीवन कष्टकर बनेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र प्रशासनले स्थितिको निरन्तर निगरानी गरिरहेको प्रजिअ पाण्डेयले बताए।

प्रकाशित: १२ श्रावण २०८२ २२:०० सोमबार