कप्तान शुभमन गिलको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोली इङ्गल्याण्डविरुद्धको पहिलो एकदिवसीय (ओडीआई) खेलिरहेको छ।
लामो समयपछि टोलीका दुई सिनियर खेलाडी विराट कोहली र रोहित शर्मा एकदिवसीय खेलमा फर्किएका छन् भने स्टार तीव्र गतिका बलर जसप्रित बुमराहले ९६८ दिनपछि यसै खेलमार्फत एकदिवसीय क्रिकेटमा पुनरागमन गरेका छन्।
बर्मिङ्घमको एजबेस्टन स्टेडियममा घरेलु टोली इङ्गल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ। खेलको सुरुवाती ७ ओभरमा इङ्गल्याण्डले कुनै विकेट नगुमाई केवल २० रन जोड्दै निकै सुस्त सुरुवात गरेको थियो।
भारतीय बलरहरूको कसिलो बलिङसामु केही सङ्घर्ष गरिरहेको इङ्गल्याण्डले हाल ९.४ ओभरको समाप्तिमा विना क्षति ५१ रन बनाएको छ। क्रिजमा ओपनर बेन डकेट ४१ रन र ज्याकब बेथेल ६ रन बनाएर खेलिरहेका छन्।
भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह र प्रसिद्ध कृष्णाले सुरुवाती ओभरहरूमा घरेलु टोलीका ब्याटरहरूलाई दबाबमा राखेका थिए। ९६८ दिनपछि ओडीआई खेलमा फर्किएका बुमराहले निकै किफायती बलिङ गर्दै ४ ओभरमा मात्र ८ रन दिएका छन्। अर्का बलर प्रसिद्ध कृष्णाले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चिएका छन् भने गुरनूर बरारले १.४ ओभरमा २६ रन दिएका छन्।
दुवै टोलीको ‘प्लेइङ–११’:
भारत: रोहित शर्मा, शुभमन गिल (कप्तान), विराट कोहली, श्रेयस अय्यर, वासिङ्टन सुन्दर, केएल राहुल (विकेटकिपर), शिवम दुबे, अक्षर पटेल, गुरनूर बरार, जसप्रित बुमराह र प्रसिद्ध कृष्णा।
इङ्गल्याण्ड: बेन डकेट, ज्याकब बेथेल, जो रुट, ह्यारी ब्रुक (कप्तान), जोस बटलर (विकेटकिपर), साम करन, विल ज्याक्स, जोफ्रा आर्चर, लियाम डसन, जोस टङ र आदिल रसिद।
प्रकाशित: ३० असार २०८३ १६:३६ मंगलबार


-600x400.jpg)