कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिरो तथा बाढीका कारण मुख्य राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। प्रदेश प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार कालिकोट, रुकुम, हुम्ला, सुर्खेत र सल्यानका सात स्थानमा सडक अवरोध देखिएको छ। अवरोधका कारण ती सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
उपलब्ध विवरणअनुसार कालिकोटको शुभकालिका गाउँपालिका-२ क्षेत्रमा खोला र बाढीका कारण कर्णाली राजमार्गमा सडक अवरोध भएको छ। रुकुमको सानीभेरी गाउँपालिका-२ स्थित सामेखोला क्षेत्रमा पहिरो खसेपछि मध्यपहाडी राजमार्ग प्रभावित भएको छ।
त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका-२ खच्चा क्षेत्रमा पहिरोका कारण कर्णाली करिडोरमा अवरोध भएको छ। सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसे क्षेत्रमा पहिरो खसेपछि कर्णाली राजमार्ग प्रभावित भएको विवरणमा उल्लेख छ।
सल्यानमा पनि तीन स्थानमा सडक अवरोध भएको छ। कपुरकोट गाउँपालिका-५ खारखोलामा पहिरोका कारण राप्ती राजमार्ग, बनगाड कुपिण्डे नगरपालिका-२ च्यापामबारी क्षेत्रमा पहिरोका कारण सल्यान-सुर्खेत सडक तथा त्रिवेणी गाउँपालिका-३ डुडेबजारमा पहिरोका कारण तुलसीपुर-कालिमाटी सडकखण्ड प्रभावित भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सन्तोष सिंह राठौरले जानकारी दिए।
सडक अवरोध भएका स्थानमा अवरोध हटाउने तथा यातायात सञ्चालनका लागि सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको छ। सडकको अवस्था स्पष्ट नभएसम्म यात्रुले सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
प्रकाशित: १० आश्विन २०८३ ०९:२० शनिबार