दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनीतिक सडक चार वर्षमा पनि सकिएको छैन।
हरिचौर-मल्म-पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। दुई वर्षमा काम सम्पन्न गर्नेगरी उक्त सडकखण्डको ठेक्का सम्झौता भएको थियो।
एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत हरिचौर-मल्म-पाण्डवखानी सडक समयमै काम नसक्दा स्थानीयलाई समस्या भएको छ।
सडक निर्माणमा स्थानीयको निरन्तर खबरदारी र जनगुनासोको बेवास्ता भएको गलकोट नगरपालिका-७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए। सो सडक २०८१ साल भदौमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान थियो।
सडक निर्माणको जिम्मा वल्डवाइड/लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो। स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए। विसं २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। रासस
प्रकाशित: २४ कार्तिक २०८३ १६:५२ मंगलबार