समाज

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।

नगरपालिकाले सडक स्तरोन्नति, खानेपानी विस्तार, सिँचाइ संरचना निर्माण तथा सार्वजनिक सुविधाका पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आधारभूत सेवाको पहुँच विस्तार गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोख्रेलका अनुसार गत एक वर्षमा एक हजार ७८८ दशमलव ५ मिटर सडक कालोपत्र तथा ढलान गरिएको छ। यससँगै नगरपालिकाभित्र हालसम्म कालोपत्र तथा ढलान गरिएको सडकको कुल लम्बाइ २१ हजार २० दशमलव ५ मिटर पुगेको छ।

यस अवधिमा तीन हजार ४१९ मिटर सडक ग्राभेल गरिएको छ। नगरपालिकाभित्र हालसम्म ग्राभेल गरिएको सडकको लम्बाइ १९ हजार ५९९ मिटर पुगेको छ। त्यसैगरी, तीन हजार ४१९ मिटर नयाँ सडकको ट्र्याक खोलिएको छ। यससँगै नगरपालिकामा हालसम्म खोलिएको नयाँ सडकको ट्र्याकको लम्बाइ ८३ हजार २७१ मिटर पुगेको छ।

स्थानीय बस्तीलाई सडक सञ्जालमा जोड्ने, आवागमन सहज बनाउने र ग्रामीण क्षेत्रका नागरिकको दैनिक जीवनयापनमा सहजीकरण गर्ने उद्देश्यले सडक निर्माण तथा स्तरोन्नतिका काम गरिएको पोख्रेलले बताए।

नगरपालिकाले खानेपानीको पहुँच विस्तारलाई पनि प्राथमिकता दिएको छ। गत एक वर्षमा थप १०१ परिवारमा खानेपानी सुविधा विस्तार गरिएको छ।

त्यस्तै, कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले यस अवधिमा ७०० मिटर सिँचाइ पूर्वाधार निर्माण गरिएको छ। यससँगै नगरपालिकामा हालसम्म निर्माण गरिएको सिँचाइ संरचनाको कुल लम्बाइ चार हजार ९४० मिटर पुगेको छ। सिँचाइ सुविधा विस्तारले खेतीयोग्य जमिनमा पानीको उपलब्धता बढाउनुका साथै कृषि उत्पादनमा सहयोग पुग्ने पोख्रेलले बताए।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासअन्तर्गत गत एक वर्षमा मन्दिर, गुम्बा र चर्च गरी तीनवटा संरचना निर्माण तथा विकास गरिएको छ। यससँगै नगरपालिकाभित्र यस्ता धार्मिक संरचनाको सङ्ख्या ९६ पुगेको छ।

त्यसैगरी, स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि एउटा स्वास्थ्यचौकी थपिएको छ। सार्वजनिक यातायातका यात्रुलाई सहजताका लागि तीनवटा यात्रु प्रतीक्षालय निर्माण गरिएको छ। यससँगै नगरपालिकामा यात्रु प्रतीक्षालयको सङ्ख्या १० पुगेको छ।

सानादेखि ठूला आयोजना सम्पन्न

नगरपालिकाले विभिन्न बजेटका आयोजना कार्यान्वयनलाई पनि प्राथमिकता दिएको छ। गत एक वर्षमा रु ५० लाखभन्दा बढी बजेटका चारवटा आयोजना सम्पन्न भएका छन्। त्यस्तै, रु पाँच लाखदेखि रु ५० लाखसम्म बजेट विनियोजन भएका ५१ वटा र रु पाँच लाखसम्म बजेट भएका १५५ वटा आयोजना सम्पन्न गरिएको छ।

सानादेखि ठूला बजेटका आयोजना कार्यान्वयनले स्थानीय आवश्यकता सम्बोधन गर्न र विभिन्न वडामा विकास निर्माणका काम अघि बढाउन सहयोग पुगेको नगरप्रमुख दधिराज सुवेदीले बताए।

सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, धार्मिक सम्पदा तथा सार्वजनिक सुविधासम्बन्धी पूर्वाधारमा गरिएको लगानीले नगरको समग्र विकासमा योगदान पुर्‍याउने उनको भनाइ छ।

प्रकाशित: २६ कार्तिक २०८३ ०७:२१ बिहीबार