जेठ महिना लागेसगैंगण्डकी प्रदेशका पहाडी जिल्लामा महको सिजन सुरु भएको छ । अक्करे भिरमा जोखिम मोलेर सिकारीहरू भिरमौरीको मह काट्न थालेका छन्। उनीहरुको मह सिकार पर्यटनको पनि हस्सा मात्रै बनेका छैन साहसिक मह सिकार हेर्न मानिसहरू लालायित समेत हुने गरेका छन्।
पर्यटक आकर्षित गर्न बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवामा गत शनिबारदेखि मह सिकार समेत सुरु भएको छ। स्थानीय सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाका अनुसार क्लबको आयोजनामा सोमबार मह सिकार उत्सव गरिएको हो। गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरसहित विशिष्ट पाहुना मह सिकार उत्सवमा सहभागी भएको उनको बताए।
‘आउँदो बिहीबारसम्म रमुवामा मह सिकार हुन्छ, यस याममा एक हजार ५ ०० देखि दुई हजार लिटरसम्म मह सिकार हुने अनुमान गरिएको छ’, अध्यक्ष बुढाले भने, ‘मह सिकार उत्सवले यसको महत्त्व झनै बढेर गएको छ, मह सिकार हेर्न र महको स्वाद लिन मानिसहरूको भीड लाग्ने गरेको छ।’
रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट–१० का पूर्ववडाध्यक्ष तिलक घर्तीले बताए । स्थानीयवासीले पुस्तौँदेखि मह सिकार गर्दै आएको बताउँदै रैथाने र सीप प्रविधिलाई अपनाउँदै भिमकाय भिरमा मह सिकार गरिने भएकाले अवलोकनका लागि आकर्षित भएको बताए।
बागलुङको ताराखोला गाउँपालिका–५ स्थित जुल्फे सामुदायिक वनबाट सोमबार झन्डै ६० लिटर मह सिकार गरिएको छ । सोही वडाको सामुदायिक वनमा केही दिनपछि मह सिकार गरिने तिलक घर्तीले बताए।
‘यसपालि हिउँदमा वर्षा धेरै भएकाले मह कम उत्पादन भएको छ’, सचिव घर्तीले भने, ‘वर्षा हुँदा मौरी चर्न जान पाउँदैन, आफैँले बनाएको मह खाएर बस्छ।’
भिरमौरीको मह सिकार गर्न सिकारीहरूले पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारका लागि भिरमा जाने गर्छन्।
सिकारमा १५ देखि २० जनाको समूह हुन्छ । टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुन्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् । पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरू यसरी मह सिकारमा रमाउँछन् । पुस्तैनी सीप र परम्परालाई पछ्याउँदै उनीहरूले मह सिकारको चलन धानिरहेका छन्।
हरेक वर्ष यही याममा ताराखोलामा भिरमौरीको मह सिकार हुँदै आएको छ । ताराखोला–५ को ठूलो भिर र मारो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । कुनै वर्षमा दुई याममा मह पाइने भएपनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने स्थानीयवासी बताउँछन् । मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न सक्दैनन् । दक्ष र अनुभवीहरूमात्र मह सिकारमा जान्छन् । साहस सँगै सीप र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ।
मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ (भर्याङ) मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरू भिरमा पुग्छन्।
मह निकालेपछि सिकारमा संलग्न र अरू सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको छ । संस्कृति र परम्पराका रूपमा घरगाउँमा भिरमौरीको मह सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउनुपर्ने खाँचो देखिन्छ । औषधिजन्य गुण र स्वास्थ्यबर्द्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिरमह प्रयोग गर्छन्।
कास्की, म्याग्दी, लमजुङलगायत जिल्लाका पहाडी भेगमा पनि भिरमौरीको मह सिकार गर्ने गरिएको छ ।
प्रकाशित: ५ जेष्ठ २०८३ १६:२२ मंगलबार


