समाज

बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ। पछिल्लो समय यहाँ उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर र मिर्गौलासम्बन्धी रोगका बिरामीको संख्या बढ्दै गएको छ।

समयमै स्वास्थ्य परीक्षण नगर्नु र नियमित व्यायामको अभावका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए। उनका अनुसार नसर्ने रोग परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या देखिएको छ।

स्वास्थ्य कार्यालयले शिवनाथ गाउँपालिकाबाहेक जिल्लाका नौ स्थानीय तहका १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा एक हजार ४१० जनामा उच्च रक्तचाप, ५२७ जनामा मधुमेह, ८२९ जनामा मोटोपन र ९७ जनामा मिर्गौलासम्बन्धी समस्या देखिएको सूचना अधिकारी कार्कीले बताए।

गम्भीर स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि ‘रिफर’ गरिएको छ भने विभिन्न रोग पहिचान भएका एक हजार २३० जनाले उपचार सेवा पाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले नसर्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भए पनि अस्वस्थ जीवनशैलीका कारण यसको जोखिम निरन्तर बढिरहेको बताए। उनका अनुसार अत्याधिक नुन, चिल्लो र चिनीको सेवन, प्रशोधित खाद्य पदार्थको प्रयोग, नियमित व्यायामको अभाव, धुमपान, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवनले जोखिम बढाएको छ।

यस्तै, पर्याप्त निद्रा नहुनु, मानसिक तनाव र मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटु र मिर्गौला रोगको जोखिम पनि उत्तिकै बढाएको छ।

स्वास्थ्यकर्मीका अनुसार नसर्ने रोग समयमा नै पहिचान गरी उपचार नगरे हृदयाघात, पक्षघात र मिर्गौला फेल हुनेजस्ता गम्भीर समस्या आउन सक्छ। जिल्ला अस्पतालका प्रमुख डा. अरविन्द जोशीले स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित र पोषिलो आहार सेवन गर्न, दैनिक व्यायाम गर्न, धुमपान र मदिराबाट टाढा रहन तथा नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरे।

प्रकाशित: ३१ असार २०८३ ०६:१६ बुधबार