भारी वर्षाको पूर्वानुमानलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ।
अविरल वर्षालाई ख्याल गर्दै प्रशासनले जोखिम न्यूनीकरण गर्न साँझ ७ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्र तथा जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार यही असोज ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शम्शेरबहादुर राईद्वारा जारी सूचनामा उल्लेख छ।
प्रशासनद्वारा जारी सूचनाको बर्खिलाप हुनेगरी व्यवसायीले सवारीसाधन सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम हुनसक्नेतर्फ सचेत गराउँदै सतर्कता अपनाउन प्रशासनले सूचनामार्फत आग्रह गरेको हो।
नदी तथा खोलाकिनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन, जोखिमको सङ्केत देखिएमा तत्काल नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।
त्यस्तै, अतिआवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ।
पशुचौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित गरी तयारी अवस्थामा राख्नसमेत प्रशासनले जारी गरेको सूचनामा भनिएको छ। यस्तै, खोटाङका दशवटै स्थानीय तहका शैक्षिक संस्थाले बिदा दिएका छन्।
बेमौसममा सुरु भएको भारी वर्षाका कारण जिल्लाका किसान चिन्तित भएका छन्। वर्षाले पाक्न लागेको अन्नबालीमा ठूलो क्षति पुग्ने भएपछि जिल्लाका किसान चिन्तित बनेका हुन्।
प्रकाशित: ९ आश्विन २०८३ ०६:१५ शुक्रबार