समाज

साना नदीमा आकस्मिक बाढीको जोखिम ,सतर्कता अपनाउन आग्रह

आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ। 

विभागका बाढीविद् बिनोद पराजुलीले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री र निर्माण कार्यमा संलग्नलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। 

महाशाखाका अनुसार निरन्तरको वर्षासँगै पहाडी र हिमाली क्षेत्रमा बहाव बढ्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा डुबान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। 

मनसुनी गतिविधि बढ्न गई देशका हिमाली तथा पहाडी भू–भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

विभागका मौसमविद् डेविट ढकालले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएका छन्। 

प्रकाशित: २ श्रावण २०८३ १०:३७ शनिबार