नारायणी नदीको सडक पुलको पिलरमा अड्किएको ‘राइनो क्रुजसिप’ क्रेनको सहायताले उद्धार गर्ने क्रममा पल्टिएको छ।
पुल जोगाउन र क्रुजलाई सुरक्षित रूपमा गैंडाकोटतर्फको किनारमा ल्याउन प्रयास भइरहँदा तीनतले क्रुज पानीमै पल्टिन पुगेको हो।
पुलको पिलरमा अड्किएको क्रुज निकाल्न सोमबार तीन वटा क्रेन परिचालन गरिएको थियो। क्रेनमार्फत तानेर किनारतर्फ ल्याउने क्रममा भार सन्तुलन बिग्रिँदा क्रुज एकातिर ढल्किएर पल्टिएको स्थानीय प्रशासनले जनाएको छ।
शनिबार साँझ नारायणी नदीमा आएको भीषण बाढीका कारण होटल रिभर क्राउनअगाडि बाँधेर राखिएको उक्त क्रुज बगेर सडक पुलको पिलरमा पुगेको थियो।
नदीमा बगेर आएका दुईवटा ठूला रुखहरू अड्किएर ठेलेपछि २० एमएमका दुईवटा टुचिन चुँडिएर क्रुज अनियन्त्रित भएको सञ्चालक कम्पनीको भनाइ थियो।
गैँडाकोटतर्फको पिलरमा ७० टनभन्दा बढी तौल भएको तीनतले क्रुज अड्किँदा सडक पुलमै क्षति पुग्ने जोखिम बढेको थियो। त्यसपछि पुलको सुरक्षालाई प्राथमिकतामा राखेर क्रेनको प्रयोग गरी तान्ने प्रयास थालिएको थियो।
झन्डै १५ करोड रुपैयाँको लगानीमा निर्मित ‘राइनो क्रुज’ नेपालकै पहिलो पर्यटकीय पानीजहाज हो। १०० फिट लम्बाइ र २५ फिट चौडाइ रहेको यस क्रुजमा एकै पटकमा १८० जनासम्म यात्रु अटाउने क्षमता थियो।
प्रकाशित: १२ आश्विन २०८३ २०:०० सोमबार