समाज

झापामा ट्राफिक कारबाही घट्दा राजस्वमा कमी

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक वर्ष २०८२।०८३ मा सवारीसाधन कारबाहीबाट रु दुई करोड ४३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा रु तीन करोड ९५ लाख ५५ हजार ५६० राजस्व सङ्कलन भएको थियो। 

यस आधारमा चालु वर्षको राजस्व अघिल्लो वर्षको तुलनामा रु एक करोड ५१ लाख ८१ हजार अर्थात् करिब ३८ दशमलव ४ प्रतिशतले घटेको देखिएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष राईका अनुसार आर्थिक वर्ष २०८२।०८३ मा ट्राफिक नियम उल्लङ्घन गरेका २४ हजार ६८० सवारीसाधनलाई कारबाही गरिएको थियो। अघिल्लो आर्थिक वर्ष २०८१।०८२ मा भने ५२ हजार ८७५ सवारी चालक कारबाहीमा परेका थिए। कारबाहीको सङ्ख्या घटेसँगै राजस्व सङ्कलनमा पनि उल्लेख्य कमी आएको हो। 

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२।०८३ मा जिल्लाभर एक हजार ५११ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ७७ जनाको मृत्यु, १११ जना गम्भीर घाइते तथा दुई हजार ४६४ जना सामान्य घाइते भएका छन्। 

अघिल्लो आर्थिक वर्ष २०८१।०८२ मा भने एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका थिए । त्यस अवधिमा १३९ जना गम्भीर र एक हजार ९३४ जना सामान्य घाइते भएका थिए। 

तथ्याङ्कले चालु वर्षमा ट्राफिक कारबाही र राजस्व सङ्कलन घटे पनि दुर्घटनाको सङ्ख्या बढेको देखाएको छ। यद्यपि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९५ बाट ७७ मा झरेको छ। यसले निर्माणाधिन काँकडभिट्टा–लौकही सडक खण्डमा दुर्घटनाको जोखिम अझै उच्च रहे पनि मृत्युदर केही घटेको संकेत गरेको छ। 

प्रकाशित: ९ श्रावण २०८३ १७:१४ शनिबार