लमजुङमा उद्धार गरेर डिभिजन वन कार्यालय परिसरमा ल्याइएको घाइते चितुवा खोर फोडेर फुत्किएको छ। नियन्त्रणमा लिने क्रममा चितुवाको आक्रमणबाट ५७ वर्षीय वनरक्षक बुद्धिजङ्ग गुरुङ घाइते भएका छन्।
चितुवाको आक्रमणबाट गुरुङको हातको औंलामा चोट लागेको छ। प्रदेश अस्पताल बेँसीशहरमा प्राथमिक उपचारपछि उनको अवस्था सामान्य रहेको र हाल घरमै आराम गरिरहेको डिभिजनल वन अधिकृत शिव श्रेष्ठले जानकारी दिए।
बेँसीशहर नगरपालिका-११, चितिस्थित तिलाहार-कार्कीडाँडा सडक खण्डको धङखोलामा बिरामी अवस्थामा फेला परेको चितुवालाई वन कार्यालय र प्रहरीको टोलीले उद्धार गरी कार्यालय परिसरमा ल्याएको थियो। पोखरास्थित वन्यजन्तु उद्धार केन्द्र पठाउने तयारी भइरहँदा चितुवाले गाडीमा राखिएको खोर (केज) को जाली भत्काएर बाहिर निस्किएको थियो।
खोरबाट बाहिर निस्किएलगत्तै चितुवाले वनरक्षक गुरुङमाथि आक्रमण गरेको थियो। अन्य कर्मचारीहरूले लठ्ठी हानेर गुरुङलाई छुटाएपछि सबै कर्मचारी कार्यालय भवनभित्र सुरक्षित रूपमा बसेका छन्।
फुत्किएको चितुवा हाल कार्यालयको तारबार कम्पाउण्डभित्रै दक्षिणतर्फ सुतिरहेको अवस्थामा रहेको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए।
चितुवालाई लठ्याएर नियन्त्रणमा लिन पोखराबाट ‘डार्टिङ टोली’ मगाइएको र टोली आइपुगेपछि उद्धार प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
प्रकाशित: २५ भाद्र २०८३ २०:१६ बिहीबार