भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९४ जना हराइरहेका छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनाका ७३ जना छन्।
आयोजनाका सुरुङमा फसेकाको उद्धार र खोजीमा कठिनाइ भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी प्राविधिक टोली तथा आयोजनाका कर्मचारीको सहभागितामा उद्धार तथा खोजी गरिए पनि फेला पार्न सकिएको छैन।
आयोजनाका सुरुङसम्म उपकरण पुर्याउन कठिनाइ भएकाले पनि खोजी अपेक्षित हुन नसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पूर्वअध्यक्ष गणेश कार्कीले बताए। सुरुङमार्गको मुख पत्ता लगाउन कठिन भएकाले पनि उद्धारमा समस्या भएको उनको भनाइ छ। ‘खोलाले पुरेको सतह सुरुङमाथि पुगेको छ,’ कार्कीले भने, ‘सुरुङको मुख यकिन गर्न पनि कठिन भएको छ।’
खोजी तथा उद्धारका लागि विदेशी विज्ञ ल्याइए पनि ठाउँमा उपकरण लैजान नसकिएको उनले बताए। ‘विदेशमा जस्तो नेपालमा उपकरण छैनन्,’ कार्कीले भने, ‘२० टनको एस्काभेटर लैजान सकिएको अवस्था छैन।’
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनाबाट ४२ जना, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट १२२ जना र १५.६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन्।
त्यसैगरी रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन भएका छन्।
१२० मेगावाटको रसुवा–भोटेकोसी आयोजनाबाट चार जना तथा २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ४१ जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ। २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट आठ जना र पाँच मेगावाटको मैलुङ खोला आयोजनाबाट सात जना सम्पर्कविहीन भएका छन्। २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना र १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन छन्।
लाङटाङ भोटेकोसी, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ए का सुरुङभित्र खोजी कार्य जारी राखिएको इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताए। ‘सरकार, निजी क्षेत्र र विदेशी विज्ञसहितको टोली सुरुङमा फसेकाको उद्धारमा लागिररहेको छ,’ डाँगीले भने, ‘परिणाम आउन भने सकेको छैन।’
रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–३ बी मा पनि उद्धार तथा खोजी जारी छ। बाढीबाट सञ्चालनमा रहेका आठ र निर्माणाधीन चार जलविद्युत आयोजना प्रभावित भएका छन्। यी आयोजना ६६९ मेगावाट क्षमताका हुन्। धेरै आयोजनाका सुरुङभित्र प्रवेश गर्न कठिनाइ हुँदा उद्धार चुनौतीपूर्ण बनेको छ।
माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयाजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि निरन्तर काम भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त आयोजनाको मुख्य सुरुङको पोर्टल सफा गर्ने काम गरिएको छ।
सुरुङमा क्राउन ब्लास्ट गरी केबल टनेलमा जमेको पानी वाटर पम्प सेट प्रयोग गरेर बाहिर निकाल्ने कामसमेत भएको छ। सुरुङको मुखतर्फ थुप्रिएको ढुंगा–माटो हटाएर भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम भएको छ। विशेषज्ञ प्राविधिक टोलीले निरन्तर काम गरिरहे पनि सुरुङभित्र फसेकाहरूको उद्धार गर्न सफलता मिलेको छैन।
प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।
रसुवागढी जलविद्युत् आयोजनामा पनि नेपाली सेनाको नेतृत्वमा उद्धार टोलीले सुरुङभित्र पुगेर खोजी गरेको छ। चिलिमेमा पनि नेपाली सेना, सशस्त्र प्रहरी, भारतीय प्राविधिक टोली र आयोजनाका प्राविधिकको सहभागितामा विद्युत्गृहसम्म पुग्ने बाटो खुलाउने काम भएको छ।
२५० मिटर लामो सुरुङमा उद्धार टोली ९० मिटरभित्रसम्म पुगे पनि त्यसभन्दा अघि जान सकेको छैन। चिलिमे आयोजनाका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार आवश्यकताअनुसार उपकरण लगेर विद्युत्गृहसम्म पुग्ने बाटो खुलाउने काम गरिएको छ।
बाढीले आयोजनाका सबै संरचना बगाएकाले उद्धारमा सफलता प्राप्त गर्न कठिन भएको हो। माथिल्लो त्रिशूली–१ आयोजनाबाट तीन जनाको उद्धार भएको छ।
प्रकाशित: १७ भाद्र २०८३ ०८:५२ बुधबार