समाज

मध्यपूर्वबाट ‘ट्रान्जिट’ यात्रामा आउनुअघि टिकट कन्फर्म गर्न आग्रह

मध्यपूर्व क्षेत्रमा हवाई उडानमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सो क्षेत्र हुँदै नेपाल आउने ट्रान्जिट यात्रुहरूलाई टिकट बुकिङ कन्फर्म गरेर मात्रै विमानस्थल आउन आग्रह गरेको छ।

मध्यपूर्व क्षेत्रमा हवाई उडान प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू बन्द वा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सूचना जारी गरेर सो परिस्थितिका बीच केही वायुसेवाले उक्त क्षेत्रका विमानस्थललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक हुँदै नेपाल आउने र नेपालबाट सोही विमानस्थलसम्म जाने ‘कनेक्टिङ’ उडान सञ्चालन गर्ने जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार यस्तो अवस्थामा मध्यपूर्व क्षेत्र हुँदै तेस्रो मुलुकबाट नेपाल आउने तथा नेपालबाट सो क्षेत्रमार्फत तेस्रो मुलुक जाने यात्रुले सम्बन्धित वायुसेवासँग समन्वय गरी आफ्नो बुकिङ कन्फर्म भएपछि मात्र विमानस्थल आउन अनुरोध गरिएको छ।

कार्यालयले यात्रुहरूलाई अनावश्यक झन्झट र असुविधा हुन नदिन समयमै सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर उडानको अवस्था सुनिश्चित गर्न समेत आग्रह गरेको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:३४ बिहीबार