प्रतिनिधि सभाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बुधबारको बैठकको कार्यसूची सकिएसँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भोलि भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
संसद्बाट पारित विशेष प्रस्तावमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
साथै, बेपत्ता नागरिकहरूको प्रभावकारी खोजी तथा प्रभावितहरूको पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।
यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीको विपद् र त्यसपछि सरकारले चालेका कदमहरूबारे संसद्लाई विस्तृत जानकारी गराएका थिए।
उनले मृतकको संख्या, प्रधानमन्त्री राहत कोषको अवस्था र उद्धार कार्यमा भोग्नुपरेका प्राविधिक जटिलताहरूबारे सांसदहरूलाई ब्रिफिङ गरेका थिए।
बैठकमा दलीय आधारमा बोल्दै विभिन्न राजनीतिक दलका नेताहरूले बाढीको क्षति र सरकारको कार्यशैलीका सम्बन्धमा आ-आफ्ना धारणा राखेका थिए।
उनीहरूले उद्धार कार्यमा भएको ढिलाइको आलोचना गर्दै यस्तो राष्ट्रिय संकटका बेला राष्ट्रिय सहमति कायम गरेर थप प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।
प्रकाशित: १७ भाद्र २०८३ १५:३३ बुधबार