समाज

पहिरोले जोखिममा रहेको नमुना बस्ती स्थानान्तरण

दैलेख सदरमुकाम नारायण नगरपालिका–१ स्थित नमुना बस्तीमा पहिरोले घरमा क्षति पुर्‍याएपछि जोखिममा रहेका १० परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

हप्ता दिन देखि परेको अविरल वर्षाका कारण बस्तीमा पहिरो आएपछि उनीहरूलाई प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी १० घरपरिवारका ४४ जनालाई सदरमुकामकै तरकारी संकलन केन्द्रको नयाँ भवनमा स्थानान्तरण गरेको हो।

स्थानीय र प्रहरीहरूले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक सहयोग गरेको थियो। उनीहरूलाई तत्कालका लागि रातिको समयमा मात्रै सुरक्षित स्थानमा राख्ने गरी स्थानान्तरण गरिएको नारायण नगरपालिका १ का वडाध्यक्ष शैलेस श्रेष्ठले बताए।

स्थानान्तरण गरिएका परिवारमा आरती बादीको ६ जना, ममता बादीको ५ जना, अन्जु बादीको ४ जना, रामकुमारी बादीको ४ जना, गणेश बादीको ३ जना, कौशिला नेपालीको ३ जना, हिरा बादीको ७ जना र बालकुमारी सुनारको ५ जनाको परिवार रहेका छन्। अन्य दुई परिवार पनि पहिरोकै कारण थप विस्थापित भएको जनाइएको छ।

पहिरोका कारण बस्तीका केही घरमा भौतिक क्षति पुगेपछि थप जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउँदै त्यस्ता परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

विस्थापित भएका १० परिवारलाई दैलेख क्षेत्र नम्बर १ का माननीय सांसद वासना थापाले खाद्यान्न  लगायत तत्काल आवश्यक दैनिक उपभोग्य सामाग्रीहरू सहयोग गरेकी छिन्।

त्यस्तै नारायण नगर पालिका १ कुइकानास्थित रातामाटाका खड्के नेपालीको दुई तले कच्ची घर भत्किदा १६ जना परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित: २३ भाद्र २०८३ १२:२६ मंगलबार