समाज

मनसुनी वर्षाले रोपाइँमा राहत

आइतबारदेखि देशका धेरैजसो ठाउँमा हल्का, मध्यमदेखि भारी वर्षा भएको छ। यसले आकाशे पानीको पर्खाइमा रहेका किसानलाई केही राहत पुग्ने आशा गरिएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार करिब ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षामै निर्भर हुन्छ। मनसुनमा वर्षा कम हुँदा मधेस प्रदेशलगायत ठाउँमा सुक्खापनले यो वर्ष धान उत्पादन घट्ने चिन्ता सरोकारवालामा छ। यही बेला वर्षा सुरु भएपछि हल्का भए पनि राहतको आशा पलाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालले आइतबारदेखि देशका विभिन्न ठाउँमा मध्यमदेखि भारी वर्षा भएको र यसले धान रोपाइँमा सहजता ल्याउने बताए। ‘मधेस र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको छ,’ उनले भने, ‘मधेसमा वर्षा कम हुँदा सुक्खा बढेको थियो। मधेसका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।’

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी वर्षा र मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा, पहाडी क्षेत्रका एक–दुई ठाउँमा भारी वर्षा र गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमी विज्ञप्तिमा उल्लेख छ।

आज लुम्बिनी प्रदेशमा एक–दुई ठाउँमा भारी वर्षा र धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयका प्रवक्ता सुदीप चौधरीले मधेसका कतिपय ठाउँमा वर्षाले रोपाइँमा केही राहत दिएको तर कतिपय ठाउँमा वर्षा नहुँदा समस्या यथावत रहेको बताए।

धान रोपाइँका लागि मनसुन अनुकूल नहुँदा नेपालको पूर्वी तराईमा गत वर्षको तुलनामा यो वर्ष रोपाइँ निकै घटेको छ। कृषि विभागका अनुसार देशभर ७८.८४ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यही समयमा ९२.६ प्रतिशत रोपाइँ भएको थियो। गत वर्षको तुलनामा यो वर्ष १३.७६ प्रतिशत बिन्दु कम रोपाइँ भएको छ।

देशभर १३ लाख ७८ हजार ९६६.९८ हेक्टरमा रोपाइँ हुने गरेकोमा हालसम्म १० लाख ८७ हजार १४८.९५ हेक्टरमा रोपाइँ भएको छ।

साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। विभागका अनुसार मधेसमा गत वर्षको तुलनामा ४०.१८ प्रतिशत बिन्दु कम रोपाइँ भएको छ। गत वर्ष ९२ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष ५१.८२ प्रतिशत मात्र भएको छ। यो प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म १ लाख ९३ हजार ११६.११ हेक्टरमा रोपाइँ भएको छ।

त्यसपछि कम रोपाइँ कोशी प्रदेशमा भएको छ। कोशीमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये हालसम्म ८०.३९ प्रतिशत अर्थात् २ लाख २२ हजार १९२.५४ हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष यही समयमा ९०.७ प्रतिशत रोपाइँ भएको थियो।

बागमती प्रदेशमा १ लाख १५ हजार ६२१.२५ हेक्टरमध्ये १ लाख १ हजार ६०६.६ हेक्टरमा रोपाइँ भएको छ, जुन ८७.१९ प्रतिशत हो। गत वर्ष यही समयमा ९०.८ प्रतिशत रोपाइँ भएको थियो।

गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टरमध्ये ८४.५३ प्रतिशत अर्थात् ७९ हजार ९१३.६९ हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष यही समयमा ९१.९ प्रतिशत रोपाइँ भएको थियो।

लुम्बिनी प्रदेशमा हालसम्म ९२.०४ प्रतिशत रोपाइँ भएको छ। यो प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टरमा रोपाइँ हुन्छ। गत वर्ष यही समयमा ९१.३ प्रतिशत रोपाइँ भएको थियो। यो वर्ष गत वर्षको तुलनामा लुम्बिनीमा रोपाइँ बढेको छ।

कर्णाली प्रदेशमा ४१ हजार ४२ हेक्टरमध्ये ९१.३८ प्रतिशत अर्थात् ३७ हजार ५०५.७२ हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष यही समयमा ९८.६ प्रतिशत रोपाइँ भएको थियो। सुदूरपश्चिम प्रदेशमा साउन ११ सम्म ९८.९४ प्रतिशत रोपाइँ भएको छ। यो प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ७४ हजार २८६ हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष यही समयमा ९९.६ प्रतिशत रोपाइँ भएको थियो।

सातै प्रदेशको तथ्याङ्क विश्लेषण गर्दा गत वर्षको तुलनामा लुम्बिनीबाहेक अन्य ६ प्रदेशमा कम रोपाइँ भएको छ।

वैकल्पिक बालीको तयारी
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले साउन मसान्तसम्म मनसुन अनुकूल नभए वैकल्पिक बालीमा जाने तयारी भइरहेको बताए। ‘तराईमा सुक्खाले कृषिमा भएको असर पत्ता लगाउन र समस्या समाधानका लागि मधेसमा अनुगमन गरेर फर्किएका छौं,’ उनले भने, ‘तत्कालका लागि कुलो, नहर, स्यालो ट्युबवेल र डिप बोरिङ मर्मत गरेर रोपाइँको क्षेत्रफल बढाउने प्रयास गरिनेछ।’

उनका अनुसार मधेसमा सुक्खाले बीउ सुक्ने, खेत फाट्ने समस्या देखिएको छ। मधेस प्रदेश सरकारका प्रवक्ता चौधरीले सुक्खाले मधेसका कतिपय ठाउँमा धानको बीउ सुकिसकेको र रोपाइँ भएका ठाउँमा सिँचाइ नहुँदा बिरुवा सुक्न थालेको बताए।

उनले भने, ‘राम्रो वर्षा नभए मधेसमा रोपाइँ र उत्पादन उल्लेखनीय रूपमा घट्नेछ। तत्काल वैकल्पिक सिँचाइ सुविधा उपलब्ध गराउन पनि समस्या छ।’ चौधरीका अनुसार सिँचाइका लागि नदी, ताल, बाँध, नहर, स्यालो ट्युबवेल र डिप बोरिङ मुख्य स्रोत छन्। स्यालो ट्युबवेल निर्माणका लागि आजदेखि सूचना प्रकाशन गरिएको छ।

कृषि तथा पशुपन्छी डायरी, २०८१ अनुसार कृषि क्षेत्रले राष्ट्रिय कूल ग्राहस्थ उत्पादनमा २४.१ प्रतिशत योगदान पुर्‍याउँछ र ५०.४ प्रतिशत जनसङ्ख्यालाई रोजगारी दिन्छ। मधेसमा नेपालको खेतीयोग्य जग्गाको १६.२५ प्रतिशतमा खेती हुन्छ। यो प्रदेशमा ५ लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये ५ लाख २ हजार २२४ हेक्टरमा खेती हुन्छ। यसमा ३ लाख ६२ हजार ३४४ हेक्टरमा बर्खे धान र २० हजार ८३९ हेक्टरमा चैते धानको खेती हुन्छ।

बर्खे धानको उत्पादन १ लाख २७० मेट्रिक टन र उत्पादकत्व ४.८१ मेट्रिक टन प्रतिहेक्टर छ। चैते धानको उत्पादन १२ लाख ३७ हजार ४०१.९ मेट्रिक टन र उत्पादकत्व ३.४१ मेट्रिक टन प्रतिहेक्टर छ।

मधेस प्रदेश दोस्रो आवधिक योजनाअनुसार २०७९/८० मा कृषि क्षेत्रको योगदान ३५.०२ प्रतिशत छ।

भूगर्भविद् डा. सुवोध ढकालले चुरे विनाशले मधेस र तराईमा सुक्खापन बढेको र चुरे संरक्षण नगरे यस्ता समस्या भविष्यमा झन् बढ्ने बताए। ‘चुरे तराईको रिचार्ज जोन हो। चुरेबाट रिचार्ज भएको पानी तराईमा पुग्छ। तर भू–क्षय र पहिरोले पानी रिचार्ज हुन सकेन। पानी बाहिर बग्छ र बाढीको समस्या हुन्छ,’ उनले भने, ‘चुरेको दिगो संरक्षण नगरे तराईमा जमिनमुनिको पानी सुक्दै जानेछ।’

राहतको तयारी
कृषि विभागका उप–महानिर्देशक जगन्नाथ तिवारीले साउन १५ सम्म मनसुन अनुकूल नभए रोपाइँ गर्न नपाएका किसानका लागि राहतको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको बताए। ‘यो वर्षाले रोपाइँलाई कति सहज गर्छ, हेरौं। नभए राहत उपलब्ध गराउने विषयमा छलफल भएको छ,’ उनले भने, ‘बीउ जुटाउने वा पानीको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको छ।’

तिवारीले दीर्घकालमा सिँचाइ सुविधा उपलब्ध नगरे यस्ता समस्या दोहोरिने र धान उत्पादनमा क्षति हुने बताए। प्रगति ढकाल/रासस

प्रकाशित: १२ श्रावण २०८२ १७:०३ सोमबार