कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुर र वडा नं ४ भितरीया सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत भएको छ ।
मोहना नदी पारी मोहनपुर र वारी भितरीया गाउँ छ । मोहनपुरमा हाल ९५ परिवारका पाँच सय २५ जना मानिसको बसोबास छ । विसं २०३६ मा बसोबास रहेका यहाँका स्थानीयलाई कुनै पनि काम गर्नको लागि नदी ओहोरदोहोर गर्नुपर्ने बाध्यता थियो ।
झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीयलाई ओहोरदोहोर गर्नमा निकै राहत भएको मोहनपुर गाउँका भलमन्सा शीतलप्रसाद डङ्गौराले बताए ।
‘यहाँका जनतालाई औषधि उपचार, विद्यालय र अन्न कुटानीपिसानी जान पनि निकै समस्या थियो । जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘यही जेठमा पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ ।’
पुल नहुँदा यहाँका जनताले ३५ वर्षसम्म हिउँदमा नदीमाथि रुखका चाक्ला र अन्य समय काठको डुङ्गाबाट आवतजावत गर्थे । यो बीचमा नेपाल रेडक्रस सोसाइटी र मर्सिकोर नामक संस्थाले काठको डुङ्गासँगै लाइफ ज्याकेट दिएपछि १२ वर्षसम्म डुङ्गाको सहारामा नदी तर्दै आइएको भलमन्सा डङ्गौराले स्मरण गरे ।
पुल निर्माणपछि त्यो समस्या समाधान भएको छ । पुल निर्माणपछि आवतजावतमा सहज भएको सोही गाउँका अगुवा लिखराज डङ्गौरा थारुले बताए । पुल नहुँदा सबैभन्दा बढी विद्यालय जाने बालबालिकालाई समस्या हुने गरेकामा अचेल भने सहज भएको स्थानीय चुनीराम डङ्गौरा थारुले बताए ।
उनले भने, ‘स्थानीयलाई साँझ, बिहान बजारबाट समान लिन जाँदा नदी वारपार गर्न काठको डुङ्गा प्रयोग गर्नुपर्दथ्यो । हाल पुल सञ्चालनपश्चात् आनन्दले आवतजावत गर्न सकिएको छ।’
सङ्घीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत सस्पेन्सन वृज डिभिजनको रु तीन करोड ४३ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो ।
प्रकाशित: ९ भाद्र २०८२ २१:४४ सोमबार