समाज

हट्यो आकाशे पानीको भरोसा, पुग्यो खेतबारीसम्मै सिँचाइ

केही वर्षअघिसम्म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरका किसान लोकबहादुर खत्रीका लागि खेती भनेको जोखिम थियो। असार लागेपछि उनको नजर आकाशतिर हुन्थ्यो। बादल लाग्दा आशा पलाउँथ्यो, पानी नपर्दा चिन्ता बढ्थ्यो। खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णयसमेत मौसमले गथ्र्यो। मेहनत धेरै हुन्थ्यो, तर उत्पादनले परिवारको आवश्यकता पूरा गर्न मुस्किल पथ्र्यो।

आज भने त्यही लोकबहादुरको दिनचर्या बदलिएको छ। खेतमा हरियाली छ, बालीका लहराहरू छन् र भविष्यप्रति विश्वास पनि छ। उनी भन्छन्, ‘पहिला खेती गरेर खान पनि पुग्दैनथ्यो। अहिले भने खान पुगेर केही बचतसमेत गर्न सक्ने भएका छौँ। दुई वर्षदेखि लिफ्ट सिँचाइको पानी आउन थालेपछि खेतबारी सधैँ हरियो देखिन्छ।’

लोकबहादुरको अनुभव उनको व्यक्तिगत कथा मात्र होइन, बालापुरको बदलिँदो सामाजिक र आर्थिक यथार्थको प्रतिबिम्ब हो। सिक्टा सिँचाइ आयोजनाअन्तर्गत लिफ्ट सिँचाइ प्रणालीमार्फत खेतबारीमा पानी पुग्न थालेपछि यहाँका किसानको जीवनशैली र खेती प्रणाली दुवैमा उल्लेखनीय परिवर्तन आएको छ।

बालापुर क्षेत्र सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर र बाँके राष्ट्रिय निकुञ्जको बीचमा अवस्थित छ। भौगोलिक अवस्थाका कारण यहाँ सतही सिँचाइ सुविधा विस्तार गर्न सहज थिएन। त्यसैले अधिकांश किसान वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए। वर्षा राम्रो भयो भने उत्पादन राम्रै हुन्थ्यो, नभए खेतमा लगानीसमेत उठाउन गाह्रो पथ्र्यो।

कतिपय जमिन वर्षभरि बाँझै रहने अवस्था थियो। तर निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले लिफ्ट प्रविधिको प्रयोग गरी नहरको पानी माथिल्लो क्षेत्रमा पुर्याउन थालेपछि गाउँको तस्वीर नै बदलिन थालेको छ।

पहिले वर्षमा एक वा दुई बाली लगाउन संघर्ष गर्ने किसान अहिले तीन बाली उत्पादन गर्ने अवस्थामा पुगेका छन्। धान, गहुँ र मकैसँगै तरकारी तथा बेमौसमी खेतीसमेत विस्तार हुन थालेको छ।

स्थानीय किसान उमा देवकोटाले विगत सम्झँदा अझै पनि कठिन दिनहरू ताजा रहेको बताउँछिन्। उनका अनुसार आकाशे पानीमा निर्भर खेती गर्दा उत्पादनले परिवार धान्नै मुस्किल पथ्र्यो।

‘पानी नपरेको वर्ष ऋण गरेर घर चलाउनुपर्ने अवस्था आउँथ्यो,’ उनी भन्छिन्, ‘सिक्टा नहर बनिरहेको बेला पनि त्यो पानी हाम्रो खेतसम्म आइपुग्छ भन्ने विश्वास थिएन। सिक्टाको पानी हाम्रो लागि होइन जस्तो लाग्थ्यो। तर अहिले त्यही पानीले हाम्रो जीवन बदलिरहेको छ ।’

उमा अहिले वर्षमा तीन बाली लगाउने किसानमध्ये एक हुन्। उत्पादन बढेसँगै आम्दानी बढेको छ र परिवारको आर्थिक अवस्था सुधारिएको छ । तर उनी अझै केही व्यवस्थापन आवश्यक रहेको बताउँछिन्। खेतसम्म पानीको पहुँच थप सहज बनाउन वितरण प्रणालीमा सुधार र थप ‘प्वाइन्ट’ निर्माण गर्नुपर्ने उनको माग छ।

बालापुरमा अहिले देखिएको परिवर्तन कृषि उत्पादन वृद्धिसम्म सीमित छैन। खेतीप्रति किसानको दृष्टिकोण बदलिएको छ। पहिले खेतीलाई जीविकोपार्जनको बाध्यता मान्ने किसान अहिले यसलाई आयआर्जनको माध्यमका रूपमा लिन थालेका छन्। खेतबारीमा वर्षभरि चहलपहल देखिन थालेको छ। बाँझो जमिन घटेको छ र कृषि गतिविधि बढेको छ।

सिक्टा सिँचाइ आयोजना आयोजना निर्देशक राजु आचार्यका अनुसार सतही सिँचाइ सुविधा पु¥याउन नसकिने क्षेत्रका लागि लिफ्ट प्रविधि प्रभावकारी विकल्प बनेको छ। उनका अनुसार पश्चिम र पूर्वी नहर आसपासका विभिन्न स्थानमा यस्ता प्रणाली विस्तार भइरहेका छन्।

आयोजनाको लक्ष्य करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने रहेको छ भने हालसम्म २२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिसकेको छ।

सतही सिँचाइ सम्भव नभएका १६ स्थानमा लिफ्ट प्रणालीमार्फत पानी पु¥याउने योजना अन्तर्गत पश्चिम नहर क्षेत्रमा चारवटा आयोजना सञ्चालनमा आइसकेका छन्। पूर्वी नहरका ११ स्थान र पश्चिम नहरको एक स्थानमा निर्माण कार्य जारी छ।

बालापुरको अनुभवले देखाएको छ कि सिँचाइ सुविधा पानीको उपलब्धता मात्र होइन, ग्रामीण जीवन परिवर्तनको आधार पनि हो। पानी पुगेपछि उत्पादन बढ्छ, उत्पादन बढेपछि आम्दानी बढ्छ, र आम्दानी बढेपछि किसानको जीवनस्तरमा सुधार आउँछ। यही परिवर्तन अहिले बालापुरमा देख्न सकिन्छ।

एक समय आकाशतिर हेरेर खेतीको भविष्य अनुमान गर्ने किसानहरू अहिले आफ्नै खेतको हरियाली हेरेर भविष्यका योजना बनाउन थालेका छन्। सिक्टा सिँचाइ आयोजनाको लिफ्ट प्रणालीले बालापुरका किसानलाई पानी मात्र दिएको छैन, उनीहरूको आत्मविश्वास, आशा र समृद्धिको नयाँ आधार पनि दिएको छ।

खेतमा बगेको पानीसँगै यहाँका किसानका सपना पनि अब अघि बढ्न थालेका छन्।

प्रकाशित: २ असार २०८३ १७:१४ मंगलबार