पोखरा लेकसाइडका अभिषेक आचार्य पेशाले इन्जिनियिर हुन । उनी रसुवास्थित लाङटाङखोला हाइड्रोपावर प्रोजेक्टमा कार्यरत थिए । बुधबार बिहान आएको बाढीपछि आचार्य सम्पर्कमा छैनन । पोखरामा रहेका आचार्यका परिवारका सदस्य अहिले अत्यासलाग्दो अवस्थामा छोराको पर्खाइमा रहेका छन ।
‘हिजो (बुधबार) बिहान ८ बजे घरमा फोन सम्पर्क भएको रहेछ । अब काममा जाने हो भनेर भन्नु भएको रहेछ । त्यसपछि सम्पर्क भएको छैन,’ आचार्यकी माईजू गायत्री बरालले भनिन, ‘कतैबाट केही खबर आउँछ की भनेर अत्यासलाग्दो अवस्थामा पर्खिबसेका छौं । तर, केही खबर छैन ।’ परिवारका सदस्य छोराको सुखद खबरको आशमा छन् ।
‘नयाँ नम्बरबाट फोन आउँदा पनि आशा पलाउँछ । कतिखेर के कस्तो खबर आउने भनेर आत्तिएर बस्नुपरेको छ,’ उनले भनिन । सम्पर्कविहीन भएका भान्जाको खोजीका लागि तत्काल कार्यस्थलमा पुग्न सम्भव पनि नरहेको उनले बताईन । ‘कतै डाँडाकाँडामा वा खोँचमा रोकिनुपरेको छ कि भन्ने आशा त छ । तरपनि सम्पर्क नभएपछि परिवारमा चिन्ता पलाएको छ,’ उनले भनिन, ‘भान्जाको खोजीका लागि सम्बन्धित सुरक्षा निकायसम्म पनि जानकारी गराएका छौं ।’
पोखरा–१४ समावेशीटोलका गोबिन्दबहादुर अधिकारी, ४८, टिमुरे भन्सार कार्यालयका सवारी चालक थिए । पोखरामा कार्यरत उनी केही महिना अघि मात्र रसुवा पुगेका थिए । अधिकारी पनि बाढीको चपेटामा परेपछि सम्पर्कविहीन भएका छन् । यता पोखरामा रहेका आफन्तमा रुवाबासी छाएको छ । पोखरामा अधिकारीकी आमा, श्रीमति र छोराछोरी पनि छन् ।
‘बाढीले उक्त क्षेत्रमा क्षति गरेपछि केही जानकारी छैन । अधिकारीको परिवार शोकमा डुबेको छ । घरमा रुवाबासी चलेको छ,’ छिमेकी माधवप्रसाद बरालले भने, ‘तीजताकाको बिदामा घर आउने भनेर भनेका थिए । तर, एकाएक बाढीको चपेटामा चिन्ता छाएको छ ।’ अधिकारी सम्पर्कविहीन भएपछि परिवारका सदस्य शोकमा डुबेको उनले बताए ।
‘सम्पर्कविहीन भएका अधिकारीको हुलियासँग मिल्ने एकजना पुरुषको शव भेटिएको भन्ने जानकारी पाएपछि गएर हेरेर पनि फर्किएको हो । तर, पक्का हुन सकेन । त्यसले गर्दा झनै समस्या परेको छ । सबैतिर अन्योलै अन्योल छाएको छ । परिवारका सदस्य बोल्न सक्ने अवस्थामा छैनन,’ पत्रकार महासंघ कास्कीका अध्यक्ष समेत रहेको अधिकारीका छिमेकी बरालले भने, ‘हामीले पनि परिवारका सदस्यलाई सम्झाउने बाहेक केही गर्न सक्ने अवस्था रहेन । सुखद् खबरको पर्खाइमा परिवार तड्पिएको छ ।’
आचार्य र अधिकारी जस्तै पोखरा–१३ की बिनु गुरुङ र पोखरा–१५ की देवकुमारी गुरुङ पनि त्यही बाढीको चपेटामा परेपछि सम्पर्कविहीन भएका छन । बिनु र देवी गोसाइकुण्ड जाने भनेर बिहानै पोखराबाट निस्केका थिए । पोखराबाट हिडेका उनीहरु बिहान ९ बजेर २० मिनेटमा गल्छीमा पुगेर आफन्तसँग सम्पर्क गरेका थिए । गल्छीबाट उनीहरु रसुवाको बाटोको यात्रामा लागेका थिए ।
बिनुका आफन्त राजेश गुरुङका अनुसार भारतमा अध्ययनको क्रममा रहेकी छोरीसँग बिनुको अन्तिम पटक गल्छीबाट भिडियोकलमा कुरा भएको थियो । त्यसपछि सम्पर्क भएको छैन । ‘गल्छीमा आएर खाजा खाएर अब हामी रसुवाको गाडी चढछौ भनेर बिनुले बिहान ९ बजेर २० मिनेटमा छोरीलाई फोन गरेकी रहिछन । त्यसपछि कतै पनि सम्पर्क भएको छैन । उनीहरु सवार बस नै त्यही बाढीको चपेटामा परेको अनुमान छ,’ उनले भने, ‘कतैबाट केही खबर आउँछ की भनेर हामी पर्खिबसेका छौ ।’ उनका अनुसार बिनु आफैँमा पनि सक्रिय महिला हुन । सामान्य समस्यामा परेको भए त कतै न कतै खबर गर्नुपर्ने हो । तर, बेखबर भएको उनले बताए ।
रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएका व्यक्तिका परिवार, आफन्त र चिनजानका व्यक्तिमार्फत अहिले सामाजिक सञ्जाल, स्थानीय प्रशासन लगायतलाई जानकारी दिएर खोजी गर्न थालिएको छ । सम्पर्कविहीन भएका व्यक्तिका बारेमा जानकारी नहुँदा घरमा रहेका चिन्तामा डुबेका छन् । कतिबेला के खबर आउने हो भन्ने उनीहरुलाई लागेको छ । कतिपयले त सम्पर्कविहीन भएका आफन्त ३६ घण्टासम्म पनि सम्पर्कमा नआउँदा राम्रो सन्देश नआउने हो की भन्ने आँकलन पनि गर्न थालेका छन् ।
सम्पर्कविहीन भएका व्यक्तिका आफन्तले परिवारका सदस्य हराएको भनेर स्थानीय प्रशासनमा समेत जानकारी गराएका छन् । कास्कीमा मात्र १६ जनाले परिवारका सदस्य सम्पर्कविहीन भएको भनेर जानकारी गराएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । ‘हामीलाई १६ जनाको विवरण आएको छ । ती मध्ये अधिकांश पोखरा भित्रका छन् । केही बाहिरी जिल्लाका नागरिक पनि रहेका छन । उनीहरुको खोजीका लागि हामीले सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेका छौं,’ उनले भने ।
त्यस्तै गोरखा जिल्ला प्रशासन काार्यालयमा पनि ५१ जना सम्पर्कविहीन भएको जानकारी पुगेको त्यहाँका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । गोरखाबाट गएर सम्पर्कविहीन भएका मध्ये २८ जना पालुङटारका बासिन्दा छन् । उनीहरु बस रिजर्भ गरेर गोसाइकुण्ड जाने भनेर यात्रामा निस्केका थिए । ‘एउटै बसमा गएका २८ जना सहितको टोली सम्पर्कविहीन भएको छ, हामीले सम्बन्धित जिल्लामा खोजीका लागि समन्वय गरेका छौं । आफन्त हराएको भनेर परिवारका सदस्य प्रशासनमा आउनु भएको छ,’ उनले भने ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता जितबहादुर शेरचन विभिन्न जिल्लाका बासिन्दा विपत्मा परेकोले उनीहरुबारे तथ्यांक संकलन गरिरहेको र भेटिएका शव व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरिरहेको बताउँछन । ‘विपत्को यो बेलामा संघीय सरकारको सिंगो स्रोत नै लागेको छ । त्यसैले हामीसँग भिन्दै स्रोतसाधन पनि छैन । स्रोत मात्र भएर हुँदैन, साधन चाहिन्छ, जुन संघीय सरकारले नै परिचालन गरिरहेको छ,’ उनले भने ।
प्रकाशित: ११ भाद्र २०८३ २०:०९ बिहीबार