समाज

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता, ४६ अर्ब दायित्व भुक्तानीको तयारी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको छ।

पूर्ण, आंशिक तथा बचत मिलानमार्फत उनीहरूको समस्या समाधान गरिएको समितिले जनाएको छ। समिति समक्ष हाल ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ।

समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार विभिन्न समस्याग्रस्त सहकारीबाट हालसम्म ४२ करोड सङ्कलन भइसकेको छ। जसमध्ये कान्तिपुर सहकारीको मात्रै १२ करोड रहेको छ।

१ करोडदेखि १२ करोडसम्म जम्मा भएका सहकारीहरूलाई समेटेर आगामी दसैंअघि नै रकम वितरण गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए।

बचत फिर्तामा १० हजार वा सोभन्दा कम बचत भएका साना बचतकर्ता, ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा रोगबाट पीडितहरूलाई पहिलो प्राथमिकता दिइएको छ।

हाल कान्तिपुरका बचतकर्तालाई २५ हजार, गोर्खा बचतकालाई १७ हजार र प्यासिफिकका बचतकर्तालाई १२ हजार ६०० का दरले रकम वितरण भइरहेको अध्यक्ष आचार्यले बताए।

ऋणीहरूको सम्पत्ति लिलाम गरी रकम सङ्कलन गर्न ३५० वटा लालपुर्जा सङ्कलन भइसकेको छ भने लिलामीको प्रक्रिया समेत अघि बढाइएको छ।

प्रत्येक छ महिनामा १ अर्बभन्दा बढी रकम सङ्कलन गरी बचतकर्तालाई दामासाहीका आधारमा वितरण गर्ने समितिको योजना छ।

यद्यपि, अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रकम फिर्ता गर्न नपाइनेजस्ता विद्यमान कानुनी र नीतिगत व्यवधानहरू बचत फिर्ता प्रक्रियाका मुख्य चुनौती रहेको अध्यक्ष आचार्यले जानकारी दिए।

प्रकाशित: २५ श्रावण २०८३ १६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App