गत भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा भीषण बाढी आएको तीन महिना पूरा भएको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत नदी तटीय क्षेत्रमा अकल्पनीय जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुर्याएको सो जलप्रलय विपद्को तीन महिना बितिसक्दा पनि अझै दीर्घकालीन पुनर्निर्माण र पीडितको स्थायी पुनस्र्थापनाले अपेक्षित गति लिन सकेको छैन।
तीव्र गतिको बाढीले बस्ती, सडक, पुल, विद्युत् संरचना र जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्याएपछि सरकारले उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका काम अघि बढाएको थियो तर तीन महिनाको अवधिमा तत्कालीन राहत र प्रशासनिक सहजीकरणका काम भए पनि दीर्घकालीन पुनर्निर्माणको कामले भने अपेक्षित गति लिन नसकेको नुवाकोटका स्थानीयको गुनासो छ।
नुवाकोटको विदुर नगरपालिका–९ आँगापुटारका अर्पित खड्काले तीन महिनाको अवधिमा बेत्रावती र देवीघाटमा गरी दुई वटा मात्र बेलिब्रिज बनेको र ढुंगेबजारदेखि बेत्रावतीसम्म पुग्ने अस्थायी सडकको ट्र्याक खोल्ने काम मात्र भएको जानकारी दिए।
नुवाकोट जिल्लाको सदरमुकाम विदुर–१ देखि त्रिशूली नदी पार गर्न त्रिशूली जलविद्युत् केन्द्रको भवन बगाएको ठाउँभन्दा केही माथि पुग्ने झोलुंगे पुल निर्माण भएको उनले बताए। खड्काले बाढीले बगाएको सडक र पुलनिर्माण कार्य अपेक्षाकृत रूपमा नभएका कारण प्रभावितलाई गुजारा चलाउन पनि सकर भइरहेको बताए।
उनले पैदलयात्रीलाई त्रिशूलीमा बनेको झोलुंगे पुलबाट नदी वारपार गर्न केही सहज भए पनि गत कात्तिक ३० गते नै निर्माण भइसक्नुपर्ने त्रिशूली बजारको बेलिब्रिजको काम अझै नसकिएकाले स्थानीयले धेरै सास्ती भोग्नुपरेको बताए।
बेत्रावतीका श्रीकृष्ण डंगोलले पनि बाढीपछि अपेक्षाकृत रूपमा सडक तथा पुलनिर्माणको कामले गति नलिएका कारण स्थानीयलाई जीवन चलाउन निकै कठिन भइरहेको बताए।
पूर्वाधार निर्माणको काम नहुँदा रसुवा र नुवाकोटका अधिकांश नागरिकले यस्तो समस्या भोग्नुपरेको छ। सरकारले जतिसक्दो छिटो बाढीले क्षतिग्रस्त बनाएको भौतिक संरचना निर्माण सक्ने र चीनको रसुवागढी भन्सार नाका सञ्चालनमा ल्याउने बताउँदै आएको छ।
सरकारले बाढीप्रभावितलाई राहत वितरण, प्रभावित परिवारको विवरण संकलन, जग्गा पहिचान, विद्युत् आपूर्ति पुनस्र्थापना, व्यवसायलाई कर तथा ऋण सहुलियत र अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम गरे पनि पूर्वाधार निर्माण भने अपेक्षाकृत रूपमा अघि बढाउन सकेको छैन।
प्रभावित स्थानीय तहका अनुसार हाल बाढीप्रभावित क्षेत्रको विस्तृत आवश्यकता पहिचान, नदी कटान नियन्त्रण र अस्थायी आवास व्यवस्थापनका कामहरू भइरहे पनि स्याफ्रुबेंसी, टिमुरे, बेत्रावती, नुवाकोट र धादिङका विस्थापित परिवार अझै अस्थायी शिविर र गुम्बाहरूमा कष्टकर जीवन बिताउन बाध्य छन्। दीर्घकालीन पुनर्निर्माणको ठोस कार्ययोजना कार्यान्वयनमा नआएको र पुनस्र्थापनामा ढिलाइ भएको भन्दै रसुवा, नुवाकोट र धादिङका बाढीपीडितले संघर्ष समिति नै गठन गरी तीनै तहका सरकारलाई दबाब दिन थालेका छन्।
बाढीप्रभावित क्षेत्रमा काम गर्न संयुक्तराष्ट्र संघअन्तर्गतको हानि तथा नोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान दिने निर्णय भएको छ। अनुदान रकम बाढीप्रभावित समुदायको पुनर्स्थापनामा उपयोग गर्ने प्रक्रिया अघि बढाउने सरकारको योजना छ।
सरकारले तीन महिनाको अवधिमा बाढीप्रभावित जिल्लालाई प्रारम्भिक नगद सहयोग उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार रसुवा र नुवाकोटलाई एकएक करोड रुपैयाँ तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ नगद उपलब्ध गराइएको थियो।
त्यस्तै १५ वटा प्रभावित स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ सहयोग गरिएको छ। विभिन्न संस्थाबाट उपलब्ध राहत रकम तथा जिन्सी सामग्री संकलनलाई व्यवस्थित गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत एकद्वार प्रणाली सञ्चालन गरिएको छ।
सरकारले भोटेकोसी बाढीबाट प्रभावित उद्योग, व्यवसाय तथा व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरी १८ प्रकारका राहत तथा सहुलियत व्यवस्था अघि बढाएको छ। त्यसमा कर विवरण बुझाउने म्याद थप, क्षतिग्रस्त सम्पत्तिको कर समायोजन, बैंक ऋणको साँवा तथा ब्याज पुनर्संरचना, सहुलियत ब्याजदरमा कर्जा र बिमा दाबी भुक्तानीमा सहजीकरणको काम भएको छ। क्षतिग्रस्त भौतिक संरचनाको बिमा दाबीको प्रारम्भिक मूल्यांकनका आधारमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिन सकिने व्यवस्था पनि सरकारले फास्ट ट्र्याकमा अघि बढाएको छ।
त्यस्तै प्रभावित परिवारको पुनस्र्थापनाका लागि जग्गा पहिचानको कामलाई पनि तीव्रता दिइएको छ। सरकारले बाढीबाट घरबार गुमाएका परिवारलाई सुरक्षित स्थानमा पुनस्र्थापना गर्ने उद्देश्यले जग्गा खोजी तथा अध्ययन समिति गठन गरेको थियो।
समितिले रसुवा, नुवाकोट र धादिङमा गरी २७७ कित्ता जग्गा पहिचान गरेको छ। ती जग्गाको क्षेत्रफल तीन हजार २७९ रोपनीभन्दा बढी छ। जग्गा पहिचान भए पनि अझै प्रभावित परिवारको स्थायी पुनस्र्थापना भएको छैन।
यस अवधिमा सरकारले सडक, खानेपानी, विद्युत्, विद्यालय, स्वास्थ्य र सञ्चार सुविधासहित एकीकृत बस्ती विकास गर्नुपर्ने कामलाई पनि अघि बढाउने प्रयास गरेको छ। बाढीले विद्युत् प्रसारण लाइन, पोल, सबस्टेसन तथा वितरण प्रणालीमा क्षति पुर्याएपछि रसुवा, नुवाकोट र धादिङमा विद्युत् सेवा अवरुद्ध भएको थियो।
नेपाल विद्युत् प्राधिकरण तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्युत् आपूर्ति पुनस्र्थापनाका लागि काम गरेका थिए। प्रभावित क्षेत्रमा चार सय थान घरायसी र १३ थान कार्यालय प्रयोजनका सोलार पावर सिस्टम पठाइएको थियो। रसुवामा विद्युत् आपूर्ति तत्काल सहज बनाउन नसकिने अवस्था देखिएपछि एक हजार २६८ घरधुरी पहिचान गरी वैकल्पिक ऊर्जाको व्यवस्था मिलाउन समन्वय गरिएको थियो। धादिङमा विद्युत् सेवा पूर्ण रूपमा सञ्चालनमा आएको र रसुवा तथा नुवाकोटका अधिकांश क्षेत्रमा आपूर्ति क्रमशः पुनस्र्थापना भएको सरकारको दाबी छ।
अवरुद्ध यातायात खुलाउन सडक विभाग र पूर्वाधार विकास मन्त्रालयले धादिङको गल्छीदेखि रसुवागढीसम्मको क्षतिग्रस्त सडकमा एकतर्फी ट्र्याक खोल्ने, पहिरो पन्छाउने र विदुर–बेत्रावती तथा ढुंगे–त्रिशूली खण्डमा मर्मतको काम अघि बढाए पनि अझै अपेक्षाकृत रूपमा काम नभएको स्थानीयको गुनासो छ।
बागमती प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ र चितवनको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ।
सहजीकरण गरिदिन निजी क्षेत्रको माग
भोटेकोसी बाढीबाट रसुवागढी, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवा भोटेकोसीलगायत १३ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ। विद्युत् आयोजनाका बाँध, विद्युत्गृह र सुरुङमा लेदो तथा ढुंगा थुप्रिँदा विद्युत् उत्पादन ठप्प छ।
बाढीप्रभावित १३ आयोजनामध्ये नौ वटा निजी र बाँकी सरकारी तथा सरकारी स्वामित्वका कम्पनीसँग सम्बन्धित छन्। नौ वटै निजी आयोजनाको शतप्रतिशत बिमा गरिएकाले वित्तीय रूपमा पुनर्निर्माण सम्भव देखिए पनि नीतिगत, कानुनी तथा प्रशासनिक जटिलताका कारण काम अघि बढाउन कठिन भएको निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको गुनासो छ। यसका लागि बुधबार निजी क्षेत्रले सरकारसँग कर छुट, भन्सार सहुलियत, अनुमतिपत्रको म्याद थप र मर्मत सामग्री आयातमा विशेष नीतिगत सहजीकरण गरिदिन माग गरेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। डाँगीले बाढी प्रभावित जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण समेटिएको विस्तृत प्रतिवेदन सरकारलाई बुझाइसकेको बताए।
इप्पानले विद्युत् ऐन २०४९ अनुसार आयोजनाको अनुमतिपत्र अवधि ५० वर्ष कायम गर्न माग गरेको छ। बाढीका कारण निर्माणको अन्तिम चरणमा पुगेका र सञ्चालनको तयारीमा रहेका आयोजनासमेत पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको छ। सरकारले आर्थिक सहायता दिनुभन्दा पनि कानुनी, प्रशासनिक तथा प्राविधिक अवरोध हटाइदिए निजी क्षेत्र पुनर्निर्माणमा जान तयार रहेको इप्पानको धारणा छ।
जसका लागि जलविद्युत् आयोजनाको पुनर्निर्माणको स्पष्ट मोडालिटी, बिमा दाबीको अन्तिम टुंगो, अनुमतिपत्र अवधि, सुरक्षित संरचना निर्माण र दीर्घकालीन लगानी व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने ऊर्जा उत्पादकहरूको भनाइ छ।
व्यावसायिक उत्पादनको सँघारमा पुगिसकेको लाङटाङ जलविद्युत् आयोजनासमेत भोटेकोसीको प्रलयकारी बाढीको चपेटामा परेपछि एउटा आयोजनालाई मात्र नभएर समग्र निजी ऊर्जा क्षेत्रको मनोबल नै नराम्ररी प्रभाव पारेको ऊर्जा उत्पादकको गुनासो छ। निर्माणको अन्तिम चरणमा रहेका र बत्ती बाल्ने तयारीमा जुटेका आयोजनाहरू एकाएक पुनर्निर्माणको सुरुआती चरणमा फर्कनुपर्दा अहिले ऊर्जा उत्पादकहरूमा गहिरो निराशा छाएको उनीहरूको भनाइ छ।
७९ अर्ब १७ करोडको निजी सम्पत्ति क्षति
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पिडिएनए) र सरकारी प्राविधिक टोलीको प्रतिवेदनअनुसार बाढीबाट निजी सम्पत्तिमा मात्र करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
समग्र अर्थतन्त्र र भौतिक पूर्वाधारको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सात खर्ब २३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने सरकारी आकलन छ। बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा,चितवन लगायत जिल्लामा सात हजार ५०० भन्दा बढी निजी घर, दर्जनौं पुल, करिब ५५ किलोमिटर सडकखण्ड र विद्युत् संरचनामा व्यापक क्षति पुर्याएको थियो।
प्रकाशित: १० मंसिर २०८३ ०८:१३ बिहीबार



