समाज

बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनामाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ

हालैको बाढीबाट सार्वजनिक संरचनामा व्यापक क्षति भएको छ। क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति तनहुँका अनुसार जिल्लाका पाँच झोलुङ्गे पुल पूर्ण र  तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ। केही पक्की पुल र कल्भर्टमा पनि भत्केका छन्। समितिले  क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मतको प्रक्रिया थालेको छ।

स्थानीय तहका विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा  क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मत तत्काल थाल्न  सम्बन्धित निकायलाई अनुरोध गरिएको समितिका अध्यक्ष शिवलाल तिवारीले जानकारी दिए।

घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घिरिङ गाउँपालिका-१ को अत्रौलीदेखि कासिवन जोड्ने झोलुङ्गे पुल, घिरिङ गाउँपालिका-४ र नवलपुरको बौदीकाली गाउँपालिका-२ अन्तर्गत मण्डारदेखि खरसङघाट जोड्ने झोलुङ्गे पुल तथा सोही वडाको करुवाटारदेखि माइतीघाट-मचेडी जोड्ने झोलुङ्गे पुल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

यसैगरी, देवघाट गाउँपालिका-२ र नवलपुरको बुलिङटार गाउँपालिका-१ जोड्ने खाल्टे-बुलिङटार झोलुङ्गे पुलमा क्षति भएको छ।

प्रकाशित: २३ आश्विन २०८३ ०९:४७ शुक्रबार