समाज

ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा

नेपाल-चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’ का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ। सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि चीन सरकारले पुल निर्माणको पुनः निर्माण सहयोग गरेको हो।

वारिपारिको भाग जडान पूरा हुँदै जाँदा सो बेलिब्रिजको बीच भाग लच्किएपछि यसलाई बलियो बनाउन चिनियाँ प्राविधिकले पुलको आधा भागमा पर्ने गरी खोलाको माझमा थप पिलर उठाउन थालिसकेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले कामको तीव्रता हेर्दा यही कात्तिक १५ गतेसम्म मितेरीपुल सञ्चालनमा आउन सक्ने आफ्नो स्थलगत निरीक्षणले आकलन गरेको बताए। उनले यस सम्बन्धमा सीमा क्षेत्रका समकक्षी चिनियाँ मित्रहरूले सञ्चालनको आधिकारिक जानकारी नदिएको बताए।

बेलिब्रिजका बीचमा ‘पिलर’ राखी थप बलियो बनाउने काम अगाडि बढेको देखेपछि व्यापार व्यवसाय सहज हुनेमा आफूहरू आशावादी रहेको व्यवसायीहरूले बताएका छन्।

पुल निर्माण हुँदासाथ माल सामग्री आयात हुने भएका कारण आयातित माल सामग्रीको छिटोछरितो भन्सार प्रक्रिया पूरा गराउन आफ्ना कर्मचारी तयारी रहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए।

प्रकाशित: ५ कार्तिक २०८२ ०९:०९ बुधबार