जिल्ला प्रशासन कार्यालय रौतहटले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन ‘घरदैलो सेवा’ सुरु गरेको छ।
प्रशासनले राहदानी (पासपोर्ट) लिन कार्यालयसम्म धाउनुपर्ने बाध्यतालाई हटाउँदै नागरिकको घरमै पुगेर राहदानी वितरण गर्ने कार्यको थालनी गरेको हो।
विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र प्रशासनिक झन्झट खेप्न नसक्ने असहाय नागरिकहरूलाई लक्षित गर्दै प्रशासनले यो कदम चालेको हो।
यसअघि राहदानी लिनका लागि घण्टौँको यात्रा गरी सदरमुकाम पुग्नुपर्ने र लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा अब प्रशासन आफैँ नागरिकको दैलोमा पुग्न थालेको छ।
प्रशासनका अनुसार, घरमै राहदानी प्राप्त गरेपछि स्थानीय नागरिकहरूले निकै राहत महसुस गरेका छन्। ‘सरकारी सेवा लिन कार्यालय नै पुग्नुपर्छ भन्ने परम्परागत मान्यतालाई चिर्दै हामीले नागरिकको घरमै सेवा पुर्याउन सुरु गरेका हौँ,’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने।
राहदानी वितरणका क्रममा प्रशासनका प्रतिनिधिहरूले सम्बन्धित व्यक्तिको पहिचान र आवश्यक कागजात रुजु गरेर मात्र हस्तान्तरण गर्ने गरेका छन्।
यसअघि पनि रौतहट प्रशासनले विभिन्न घुम्ती शिविरमार्फत नागरिकता र अन्य सरकारी सेवाहरू टोल-टोलमा पुगेर प्रदान गर्दै आएको थियो।
प्रकाशित: २० जेष्ठ २०८३ १९:५७ बुधबार



