समाज

रसुवागढी भन्सार पूर्ण रूपमा ध्वस्त

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवागढी भन्सार कार्यालय र भन्सार यार्ड पूर्ण रूपमा ध्वस्त भएको बताएका छन्।  

बाढीका बेला टिमुरेमा रहेका ढुङ्गानालाई नेपाली सेनाले उद्धार गरी बुधबार नुवाकोट ल्याएको हो। उनका अनुसार बुधबार बिहान करिब साढे ७ बजे कार्यालय पुगेका उनी करिब साढे ८ बजे आफ्नै कार्यकक्षमा बसिरहेका बेला भूकम्प आएजस्तो महसुस भएको थियो। 

त्यसपछि बाहिर निस्कँदा करिब १०० मिटरभन्दा अग्लो छालजस्तो बाढी तीव्र गतिमा बजारतर्फ आएको उनले बताए। बाढी आएको थाहा पाएपछि कार्यालयमा रहेका कर्मचारीसहित आफूहरू तत्काल डाँडातर्फ उकालो लागेको उनले जानकारी दिए।  

‘एक मिनेटभित्रै त्यो बाढीले टिमुरे बजार सबै ध्वस्त बनाउने अवस्था भयो,’ ढुङ्गानाले भनेका छन्। 

उनका अनुसार बाढीले रसुवागढी भन्सार कार्यालय, भन्सार यार्ड र आसपासको सडक तथा संरचनामा ठूलो क्षति पुर्‍याएको छ। भन्सार यार्डमा रहेका करिब ३०० सवारीसाधनसमेत बाढीले बगाएको उनले बताएका छन्। तीमध्ये करिब १०० वटा मालवाहक ट्रक र करिब २०० वटा विद्युतीय (ईभी) सवारीसाधन रहेको उनको भनाइ छ। 

बाढीअघि भन्सार कार्यालयले राजस्व असुलीमा सुधार गर्दै लक्ष्यअनुसार काम गरिरहेको भए पनि अब तत्काल भन्सार सञ्चालन गर्न सक्ने अवस्था नरहेको ढुङ्गानाले बताए। 

‘अब त्यहाँ कुनै भन्सार छैन, कुनै नामनिशान छैन। तत्कालै भन्सार सञ्चालन गर्न सक्ने अवस्था मैले देखेको छैन,’ उनले भने। 

उनका अनुसार अघिल्लो वर्षको बाढीपछि पनि सडक पूर्ण रूपमा निर्माण हुन सकेको थिएन। अहिलेको बाढीले सडकको समेत नामनिशान नराखेकाले भन्सार सञ्चालन गर्न पूर्वाधार पुनर्निर्माणमा लामो समय लाग्न सक्ने उनले बताए। 

ढुङ्गानाका अनुसार बाढीमा भन्सार कार्यालयका दुई कर्मचारीसमेत फसेका थिए। उनीहरूमध्ये एक जनालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको जानकारी आफूले पाएको उनले बताए। 

तर, भन्सार कार्यालयका थप १५ जना कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको उनले जानकारी दिए। बाढीका कारण बुधबार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध हुनुका साथै टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले कर्मचारीहरूको अवस्थाबारे जानकारी लिन कठिनाइ भइरहेको उनले बताए। 

‘१५ जना साथीहरूसँग अहिले मेरो सम्पर्क हुन सकेको छैन। फोन पनि नलागेको अवस्था छ,’ ढुङ्गानाले भने। 

प्रकाशित: ११ भाद्र २०८३ १३:१४ बिहीबार