समाज

रसुवा बाढी : धादिङ–गोरखा जोड्ने झोलुङ्गे पुल बगायो, पृथ्वी राजमार्ग अवरुद्ध

रसुवामा आएको बाढीपछि भोटेकोशी हुँदै आएको बाढीले धादिङ र गोरखा जोड्ने झोलुङ्गे पुल आइतबार बिहान बगाएको छ। उक्त पुल बगाएपछि  दुई जिल्लाबीचको स्थानीय आवागमन प्रभावित हुने भएको छ। 

आइतबार बिहान आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ चरौंदी र गोरखाको गण्डकी गाउँपालिका ८ घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगाएको हो। बाढीले चरौंदीस्थित सहकारी भवन र विद्यालयमा समेत क्षति पुर्‍याएको छ। 

यसअघि गत भदौ १० गते आएको बाढीबाट उक्त पुल र आसपासका संरचनामा क्षति पुगेको थिएन। तर, आइतबार पुनः आएको बाढीले पुलसहित थप संरचनामा क्षति पुर्‍याएको हो। 

यसैबीच, धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। नारायणगढ–काठमाडौं सडकखण्डमा दुवैतर्फको यातायात ठप्प भएको प्रहरीले जनाएको छ। 

सडक भासिएपछि नारायणगढबाट काठमाडौं तथा काठमाडौंबाट नारायणगढतर्फ जाने सबै प्रकारका सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्म रोकिएको छ। 

बाढीले गोरखाका अन्य झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ। गण्डकी गाउँपालिका ८ धवादीघाट र धादिङको चरौदी जोड्ने पुलसँगै गण्डकी गाउँपालिका ७ इटार र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

त्यस्तै, सहिद लखन गाउँपालिका ३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुलमा पनि ठूलो क्षति पुगेको छ। 

प्रकाशित: १४ भाद्र २०८३ १३:०७ आइतबार