समाज

रसुवा बाढी : रियल टाइम अपडेट सिस्टम बनाउँदै ऊर्जा मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार, राहत र पुनर्निर्माणका लागि रियम टाइम अपडेट सिस्टम निर्माण थालेको छ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा रियल टाइम अपडेटको लागि सिस्टम बनाउन निर्देशन दिएका हुन्। मन्त्रालयले हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको थियो। मन्त्री श्रेष्ठको निर्देशनअनुसार अब आफ्नै सूचना प्रणाली बनाउन लागेको हो।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार तत्काल मन्त्रालयको सूचना प्रवाहका लागि मन्त्रालयअन्तर्गत कुन जलविद्युत् आयोजना र साइटमा के भइरहेको छ भन्ने वास्तविक विवरण प्राप्त गर्न 'रियल टाइम अपडेट' प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याउन लागिएको हो।

'कुन-कुन जलविद्युत आयोजनामा कति जना मान्छे फसेका छन्, सुरुङ भित्र र बाहिर कति छन्? हाम्रो प्रभावित १६ वटा आयोजनामा कहाँ-कहाँ रेस्क्यु अपरेसन भइरहेको छ? कति जनाको बाहिर उद्धार गरियो? भित्रको प्रयासहरू के-के हुँदैछ? त्यसमा मटेरियलको मोबिलाइजेसन हामी कसरी गरिरहेका छौँ? कोसँग कोअर्डिनेसन गरिरहेका छौँ? मटेरियल बाटोमा छ कि ठाउँमा पुगिसक्यो? नेसनल र इन्टरनेसनल एक्सपर्टहरूलाई पनि यसमा पुल गर्न सक्ने एउटा मेकानिजम बनाउँदैछौं। डे वान देखि डे फाइभ, डे सिक्ससम्म हामीले अहिलेसम्म के-के गर्यौँ? कुन-कुन समयमा के-के हामीले गर्यौँ, त्यो पनि लिपिबद्ध बनाउने प्रयासमा छौँ,' उनले भने।

रियल टाइम अपडेट प्रणालीमार्फत विपद् प्रभावित मुख्य १६ वटा जलविद्युत आयोजनाहरूमा सुरुङभित्र र बाहिर रहेका श्रमिक/कर्मचारीहरूको स्थिति, उद्धारको अवस्था, सामग्रीको परिचालन र आवश्यक राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञहरूको पुलिङसम्बन्धी विवरण अभिलेख र अनुगमन हुनेछ।

प्रकाशित: १५ भाद्र २०८३ ०८:१९ सोमबार