समाज

रसुवा बाढी : तिब्बती क्षेत्रमा हिमताल विस्फोट भएको मौसमविद्को अनुमान

रसुवामा बुधबार आएको बाढीको प्रमुख कारण नेपाल चीन सीमाबाट करिब २६ किलोमिटर उत्तरतर्फ तिब्बती क्षेत्रमा रहेको हिमताल विस्फोट भएको हुनसक्ने मौसमविद् उज्वल उपाध्यायले अनुमान गरेका छन्। 

उपाध्यायका अनुसार नेपाल–चीन सीमाबाट करिब २६ किलोमिटर उत्तरतर्फ तिब्बती क्षेत्रमा रहेका तीनवटा हिमतालमध्ये कम्तीमा एउटा हिमताल विस्फोट भएको हुनसक्ने देखिएको छ। यद्यपि घटनाको वास्तविक कारण थप अध्ययन तथा भू–उपग्रहबाट प्राप्त सूचनाको विश्लेषणपछि मात्रै यकिन हुने उनले बताएका छन्। 

उनका अनुसार उक्त क्षेत्रमा हिमपहिरो गएर केही समय नदी थुनिएको र त्यसबाट अस्थायी बाँध बनेको र माथिल्लो भूभागमा हिमताल विस्फोट भएपछि अचानक आएको बाढीले तल्लो क्षेत्रमा पहिरोबाट बनेको अस्थायी बाँधसहित ठूलो परिमाणमा जमेको पानी र लेदो बगाउँदा बाढी थप विनाशकारी  हुनसक्ने उनको अनुमान छ। 

उपाध्यायले घटनाको थप तथ्य भू–उपग्रहबाट प्राप्त भू–सूचनाको विश्लेषणपछि स्पष्ट हुँदै जाने बताएका छन्। तर, बाढीको जोखिम अझै पूर्ण रूपमा कम नहुनुको साथै पहिरोबाट बनेको अस्थायी बाँध पूर्ण रूपमा नभत्किएको र त्यस क्षेत्रमा अझै ठूलो परिमाणमा पानी तथा लेदो जमेको हुनसक्ने हुँदा तटीय क्षेत्रमा थप जोखिम कायम रहेको उनको भनाइ छ। 

उनले नेपालको उत्तरतर्फ मेचीदेखि महाकालीसम्म नेपाल र तिब्बती भूभागमा यस्ता असंख्य हिमताल भएपनि बढ्दो वायुमण्डलीय तापक्रमका कारण हिमताल विस्फोटको जोखिमसमेत बढ्दै गएको भन्दै दीर्घकालीन रूपमा सम्भावित जोखिमयुक्त हिमतालको पहिचान, निरन्तर निगरानी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। 

प्रकाशित: १० भाद्र २०८३ १७:२८ बुधबार