समाज

रसुवा बाढी : हाइड्रोको टनेलमा कसरी भइरहेको छ खोजी ?

नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा हवाई, जमिनी तथा टनेलभित्र खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। नेपाली सेनाले हालसम्म हेलिकोप्टरमार्फत २३ जनाको उद्धार गरिएको जनाएको छ।

सेनाका अनुसार विभिन्न जलविद्युत् आयोजनाका टनेलहरूमा विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ।

चिलिमे हाइड्रोको टनेलमा टोली करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर तथा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको सेनाले जनाएको छ।

त्रिशूली–३ए जलविद्युत् आयोजनामा टनेलको हेड फेला परेपछि कम्प्रेसरमार्फत हावा प्रवाह गर्ने, टनेलभित्रको पानी निकाल्ने तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। साथै तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडिको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ भने रक ब्रेकरको सहायताले टनेलभित्र प्रवेश गर्न सकिने स्थान बनाउन ढुङ्गा फुटाउने काम जारी छ।

यस्तै, त्रिशूली–३ बी आयोजनामा पनि विज्ञसहितको टोलीले टनेलको प्रवेशद्वार पहिचान गरी एक्स्काभेटर प्रयोग गरेर प्रवेश मार्ग बनाउने तथा खन्ने कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ।

बाढीपछिको प्रारम्भिक उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजनाबाट कुल २७९ जनाको जीवित उद्धार गरिएको सेनाले जनाएको छ।

रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ए बाट २२१ जना, माथिल्लो त्रिशूली–३ बी बाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत्बाट ४ जना, त्रिशूली जलविद्युत्बाट ३ जना तथा देवघाट जलविद्युत्बाट ५ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।

यस्तै, जमिनीमार्फत पनि प्रभावित क्षेत्रका जंगल, डाँडा, नदी किनार र बस्तीहरूमा पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझ्ने, सुरक्षा प्रत्याभूति दिलाउने तथा थप उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने कार्य जारी रहेको सेनाले जनाएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) सम्मका प्रभावित क्षेत्रमा ९ हजार २ सयभन्दा बढी नेपाली सेनाका फौज परिचालन भएका छन्।

उनीहरूले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेका छन्।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरण गर्न निसंक्रमण अभियान पनि सञ्चालन गरिएको छ। धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र (त्रिशूली), देवघाट, पृथ्वीचन्द्र अस्पताल, परासीस्थित शव सङ्कलन केन्द्र तथा सुनवल नगरपालिका–४ को मुलपानी सामुदायिक वनस्थित शव व्यवस्थापन क्षेत्रमा डिसइन्फेक्सन गरिएको छ।

अन्य प्रभावित स्थानहरूमा पनि स्थानीय तहसँग समन्वय गरी निसंक्रमण कार्य विस्तार गरिने नेपाली सेनाले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १३:५३ मंगलबार