रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी नेपाली सेनाका ४४ जनासहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ४४ जना सैनिक अहिलेसम्म युनिटको सम्पर्कमा आउन सकेका छैनन्।
ती सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा रसुवा जिल्लास्थित विभिन्न जलविद्युत् आयोजनाको सुरक्षाका लागि तैनाथ थिए।
बाढीका कारण अन्य सुरक्षा निकायमा पनि ठूलो क्षति पुगेको छ। प्राप्त पछिल्लो विवरणअनुसार नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मीसमेत बाढीपछि सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन सुरक्षाकर्मीहरूको खोजीका लागि विशेष उद्धार टोलीहरू परिचालन गरिएको छ। यद्यपि, बाढीले सडक, पक्की पुल तथा अन्य भौतिक संरचनाहरू बगाएका कारण प्रभावित क्षेत्रसम्म पुग्न र उद्धार कार्य अघि बढाउन तीव्र कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ।
प्रकाशित: १० भाद्र २०८३ १९:१३ बुधबार