समाज

रसुवा बाढी : गोरखाका ५७ जना बेपत्ता, नदी किनारबाट २३ शव संकलन

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीमा परेर गोरखाका कम्तीमा ५७ जना बेपत्ता भएका छन्। रोजगारी सँगै तीर्थयात्राका लागि रसुवा र नुवाकोट पुगेका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका छन्। 

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार विभिन्न स्थानीय तहबाट बेपत्ता भएकाहरूको विवरण संकलन गर्ने काम भइरहेको छ। प्रारम्भिक विवरणमा करिब ५१ जनाको खोजी भइरहेको भए पनि स्थानीय तहबाट प्राप्त पछिल्लो विवरणअनुसार बेपत्ताको संख्या ५७ पुगेको हो। 

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा नदी किनारबाट शव तथा मानव अंग संकलन गर्ने कामसमेत भइरहेको छ। बिहीबारसम्म गोरखातर्फ मात्रै २३ वटा शव संकलन गरिएको प्रहरीले जनाएको छ। तीमध्ये अधिकांशको पहिचान हुन बाँकी रहेको छ।  

प्रहरीका अनुसार बाढीले बगाएका शवका विभिन्न अंगसमेत छुट्टाछुट्टै अवस्थामा भेटिएका छन्। हात, खुट्टा तथा टाउकोलगायत अंग नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ। 

सबैभन्दा धेरै पालुङटार नगरपालिकाका ३१ जना बेपत्ता भएका छन्। पालुङटार–४ र ५, ठाँटीपोखरीबाट गोसाइँकुण्ड यात्राका लागि गएका उनीहरू ग २ ख ११५२ नम्बरको बसमा सवार थिए। बसमा ३७ जना यात्रु रहेकोमा बाढीका केहिले झ्यालबाट हामफालेर ज्यान जोगाउन सफल भए पनि ३१ जनाको अवस्था अझै अज्ञात रहेको पालुङटार नगरपालिकाले जनाएको छ।

सहिदलखन गाउँपालिकाका ७ जना बाढीपछि सम्पर्कविहीन छन्। त्यहा वडा नं १ का एकजना डोजर अपरेटर, वडा नं ३ का एक ट्रक चालक, वडा नं ६ का एक विद्युत् कामदार, वडा नं ७ का एक होटल व्यवसायी र एक ट्रेकिङ व्यवसायी तथा वडा नं ८ का दुई ट्रेकिङ व्यवसायी सम्पर्कविहीन छन्।  त्यसैगरि धार्चे गाउँपालिका ४ लाप्राकका चारजना पनि बाढीमा बेपत्ता भएका छन्।  

भिमसेनथापा गाउँपालिकाका तीनजना सम्पर्कविहीन छन्। अध्यक्ष लोकप्रसाद बन्जाराका अनुसार  भिमशेनथापा गाउँपालिका वडा नम्बर ३ का रामचन्द्र बिसी वडा नं ६ का एक जना र वडा नं १ का रन्जन भट्ट रहेका छन्। बारपाकसुलिकोट गाउँपालिकाका ६ जना पनि बाढीपछि बेपत्ता छन्। उक्त गाउँपालिकाको वडा नं ४ का तीनजना, वडा नं ३ र ६ का एक–एक जना तथा वडा नं ५ का एकजना सम्पर्कविहीन छन्। 

वडा नं ४ का तीनजनामध्ये एकजना नेपाली सेना र दुईजना पर्यटन मजदुर रहेको तथा वडा नं ५ का व्यक्ति अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी रहेका छन्। सिरानचोक गाउँपालिकाका दुईजना र आरुघाट गाउँपालिकाका तीनजना समेत सम्पर्कविहीन छन्। 

सिरानचोक ५ र ८ का एक–एक जना रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताए। आरुघाट गाउँपालिकाका तिन जना बेपत्ता भएका छन् । जसमा वडा नं ९ का एकजना चालक, वडा नं ३ का एकजना रसुवामा मजदुरी गर्दै आएका व्यक्ति र वडा नं ८ का एकजना पनि बेपत्ता भएका छन् भने गण्डकी गाउँपालिकाका एकजना  पनि सम्पर्कविहीन भएका छन्। 

जिल्ला प्रहरी कार्यालय गोरखाले बेपत्ता व्यक्तिहरूको यकिन विवरण संकलन भइरहेको जनाएको छ। स्थानीय तह, आफन्त तथा विभिन्न माध्यमबाट प्राप्त सूचनालाई एकीकृत गर्ने काम भइरहेको र थप विवरण प्राप्त हुन सक्ने प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ भाद्र २०८३ १४:३५ बिहीबार