रसुवामा आएको बाढीपछि खोज तथा उद्धारबाट शुक्रबार बिहानसम्म ४७७ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले शुक्रबार १२ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व–पश्चिम, तनहुँ र चितवनमा ठूलो मानवीय क्षति भएको जनाएको हो।
प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १८६ जनाको शव फेला परेको छ।
९७७ जना सम्पर्कविहीन
बाढीपछि सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना रहेका छन्।
त्यस्तै, रसुवाका १६१ र नुवाकोटका १ जना तथा मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सम्पर्कविहीन विदेशी नागरिक ५१७ जना छन् भने विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढी तथा त्यसपछिको घटनामा ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना रहेको विवरणमा उल्लेख छ।
प्रकाशित: १२ भाद्र २०८३ १३:१० शुक्रबार