रसुवामा आएको बाढी र पहिरोमा परि रसुवा, नुवाकोट, गोरखा र धादिङमा ३१ जना व्यक्तिको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचार भइरहेको छ।
अस्पतालले बिहिबार बिहान ११ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीपहिरोमा परी घाइते भएका ३१ जनाको उपचार भइरहेको जानकारी दिएको हो। अस्पतालका अनुसार उपचाररत बिरामीमध्ये केहीलाई आईसीयूमा भेन्टिलेटरको सहायतामा राखिएको छ भने केहीको आकस्मिक कक्ष तथा अर्थोपेडिक वार्डमा उपचार भइरहेको छ।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार कुशल मगरको उपचारका क्रममा मृत्यु भएको छ। त्यस्तै, पेम तामाङ, पवित्रा कार्की, राजेन्द्र भट्टा र मिनबहादुर श्रेष्ठलगायतका बिरामी आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्।
अस्पतालको विवरणअनुसार पाँच जना बिरामी उपचारपछि डिस्चार्ज भइसकेका छन्। अन्य घाइतेहरूको पनि आकस्मिक कक्ष, आईसीयू तथा अर्थोपेडिक वार्डमा उपचार भइरहेको छ।
उपचाररत बिरामीमा नेपालीसँगै भारतका एक नागरिकसमेत रहेको अस्पतालको विवरणमा उल्लेख छ।
प्रकाशित: ११ भाद्र २०८३ १४:५७ बिहीबार