रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइतेमध्ये चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन्।
त्यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवाको गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेहरूमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड ५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरुष, नामथर खुल्न नसकेका एक पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ, सुशान्त श्रेष्ठ र जाजरकोटका बलबहादुर घर्ती मगर रहेका छन्।
यस्तै, गोरखा टिमुरे गोसाइँकुण्ड ७ का कामु नगरकोटीको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ। नगरकोटीसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको प्रहरीले जनाएको छ।
शिक्षण अस्पतालमा उपचाररत अन्य घाइतेमा टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका ५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका १ की रिता दोचा रहेका छन्।
बाढीपछि घाइतेहरूको उद्धार गरी काठमाडौं ल्याइएको हो। प्रहरीले घाइतेहरूको अवस्था र पहिचानसम्बन्धी विवरण संकलन तथा आवश्यक समन्वय भइरहेको जनाएको छ।
प्रकाशित: १० भाद्र २०८३ १७:१२ बुधबार