समाज

रसुवा बाढी : बाँकेका २२ र रोल्पाका १६ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बाँकेका २२ जना नागरिक सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीनमध्ये १६ जना बाँकेका स्थायी बासिन्दा, चार जना बाँकेमा अस्थायी रूपमा बसोबास गरिरहेका नेपाली नागरिक र दुई जना भारतीय पर्यटक रहेका छन्।  

प्रशासनका अनुसार सम्पर्कविहीनको खोजीका लागि फोटोसहितको व्यक्तिगत विवरण तयार गरी सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि त्यहाँ रोजगारी, अध्ययन तथा भ्रमणका लागि पुगेका बाँकेका नागरिकको अवस्था खोजी भइरहेको हो। 

प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार बाजुराका वीरेन्द्र जोशी र सत्या जोशी, भारतको मुम्बईका सञ्जय पाटिल र नलिनी पाटिल, बर्दियाका विष्णु भण्डारी र हरिकुमार कुश्मी थारू तथा बाँकेको कोहलपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक भोजराज जोशी सम्पर्कविहीन छन्। 

त्यस्तै, राप्तीसोनारीका सुरेश विक, सेतुनाथ सेढाई, योगमाया पुनमगर र जानकी घर्ती, नेपालगञ्जका शेरसिंह रोकाया, विष्णुमती रोकाया, दीपक रोकाया, अराम दमाई र उजला दमाई पनि सम्पर्कविहीनको सूचीमा छन्। 

बारबर्दियाका मनबहादुर थारू, डुडुवाका सुरजकुमार मोर्य, कोहलपुरका मायादेवी थारू, सुनसरी चौधरी, अनिता चौधरी र सीता थारू पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ। 

प्रशासनका अनुसार सम्पर्कविहीनको सूचीमा सशस्त्र प्रहरी बल र नेपाली सेनामा कार्यरत केही कर्मचारीसमेत छन्। बाँकेमा अस्थायी रूपमा बसोबास गरिरहेका बर्दियाका दुई जना टिमुरेस्थित भन्सार कार्यालयमा लोडअनलोडको काममा संलग्न रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। 

रसुवा क्षेत्रमा रोजगारी, अध्ययन वा भ्रमणका क्रममा गएका अन्य व्यक्ति पनि सम्पर्कविहीन भएको भए स्थानीय प्रहरी, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा विवरण संकलन गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गरिने जनाइएको छ। 

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाँकेले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकद्वार प्रणालीमार्फत आर्थिक सहयोग गर्न जिल्लावासीलाई आग्रह गरेको छ। बाढी प्रभावितको अस्थायी व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि राहत कोषमा सहयोग गर्न प्रशासनले अनुरोध गरेको हो।

रोल्पाका १६ जना पनि सम्पर्कविहीन :

भोटेकोशी नदीमा आएको बाढीका कारण रोल्पाका १६ जना पनि सम्पर्कविहीन भएका छन्। सुनिल स्मृति गाउँपालिकाका १० जना र रुन्टीगढी गाउँपालिकाका ६ जना गरी १६ जना सम्पर्कविहीन भएको सम्बन्धित स्थानीय तहले जनाएको छ। 

सुनिल स्मृति गाउँपालिकाका अनुसार वडा नम्बर ६ का राजेन्द्र महत, बसन्त महरा, सञ्जय महत, कुमार महरा र रविलाल भण्डारी सम्पर्कविहीन छन्। वडा नम्बर ५ का हरिबहादुर घर्तीमगर, आर्यन घर्ती, सोमबहादुर घर्ती र अनराम पुन तथा वडा नम्बर ३ का बहादुर पुन पनि सम्पर्कविहीन रहेको जनाइएको छ। 

रुन्टीगढी गाउँपालिकाका अनुसार वडा नम्बर ८ का गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर सम्पर्कविहीन छन्। 

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रोल्पाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा काम गर्न गएका तथा हालसम्म सम्पर्कमा नआएका व्यक्तिको विवरण तत्काल उपलब्ध गराउन आग्रह गरेका छन्। 

प्रकाशित: ११ भाद्र २०८३ १६:२६ बिहीबार