समाज

रसुवा बाढी : १८४ विदेशी पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

रसुवा बाढीमा प्रभावित भएका १८४ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले शनिबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट थप तीन जना पर्यटक सम्पर्कमा आएको जनाएको छ। बोर्डका अनुसार ४२० जना विदेशी पर्यटक अझै सम्पर्कविहीन छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए), सुरक्षा निकाय तथा स्थानीय प्रशासनको संयुक्त समन्वयमा सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।  

उद्धार गरिएका तथा सम्पर्कमा आएका गरी कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना छन् । चीनका २७, दक्षिण कोरियाका २०, जर्मनी र माल्टाका चार र चार, इटाली र अमेरिकाका तीनरतीन तथा रुस, स्विट्जरल्याण्ड र टर्कीका दुईरदुई जना पर्यटक रहेका छन्। 

त्यसैगरी बुल्गेरिया, ओमान र पोर्चुगलका एकरएक जना पर्यटकको उद्धार गरिएको छ । स्पेनका दुई जना र बेल्जियमका एक जना पर्यटक भने हाल सुरक्षा निकायको सम्पर्कमा आएका छन्। 

विपद्मा परेका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन विदेशी कूटनीतिक नियोगहरूले पनि पर्यटन बोर्डसँग प्रत्यक्ष समन्वय थालेका छन् । नयाँ दिल्लीस्थित सिंगापुर उच्चायोगका प्रथम सचिव अब्राहम ट्यान र न्युजिल्याण्ड उच्चायोगका काउन्सिलर जेनी डु टोइटले पर्यटन बोर्डको कार्यालयमै पुगेर बेपत्ता नागरिकको खोजी तथा उद्धारबारे छलफल गरेका छन्। 

पर्यटन बोर्डले विदेशी नागरिकको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि राज्य संयन्त्र पूर्ण रूपमा परिचालन भएको जनाएको छ । बोर्डले बेपत्ता तथा प्रभावित पर्यटकको उद्धारमा आवश्यक सबै सहयोग उपलब्ध गराउने जनाएको छ।

यसैबीच बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको काठमाडौं–मुग्लिङ सडकखण्ड मर्मतपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवा, नुवाकोट, धादिङ र गोरखाका केही ग्रामीण तथा सहायक सडकबाहेक देशभरको यातायात आवागमन सामान्य रहेको बोर्डले जनाएको छ। 

प्रकाशित: १३ भाद्र २०८३ १६:१६ शनिबार