समाज

भोटेकोशी बाढी : ७ हजार २८३ प्रहरी परिचालन, २५ अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

नेपाल प्रहरीका अनुसार हालसम्म ७ हजार २८३ जना प्रहरी कर्मचारी विपद् प्रभावित क्षेत्रमा परिचालन भएका छन्। बाढीका क्रममा २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

प्रहरीले आज बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा विपद्का घटनामा ७३४ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नेपाल प्रहरी पूर्व क्षेत्रमा १७८, चितवनमा २५९, तनहुँमा ३७ र नेपाल प्रहरी पश्चिम क्षेत्रमा ८२ वटा रहेका छन्।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा २ हजार ७१५ जना घाइते तथा उद्धार गरिएको विवरण सार्वजनिक गरिएको छ। रसुवामा ६९२, नुवाकोटमा २ हजार २०, धादिङमा ३ जना तथा काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १६० रहेको जनाइएको छ।

प्रहरीले सम्पर्कविहीन आफ्ना कर्मचारीको खोजी तथा बाढी प्रभावित नागरिकको उद्धारलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८३ १२:३१ आइतबार