आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको ९ दिन बाँकी रहँदा क्षेत्र नम्बर १ की उम्मेदवार रन्जु दर्शना आमा बनेकी छिन्। मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रन्जुले बानेश्वरस्थित सिभिल अस्पतालमा पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्।
जेनजी आन्दोलनका क्रममा बानेश्वर क्षेत्र नम्बर १ मै ७६ सन्तान गुमाएका आमाहरूलाई प्रतिनिधित्व गर्दै उनीहरूलाई न्याय दिलाउन कै लागि आफूले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएको रन्जुले नागरिकसँग बताउँदै आएकी छिन्।
नौ महिनाको गर्भवती रन्जु गर्भावस्थामा नै घरदैलो कार्यक्रममा सहभागिता जनाउँदै आएकी थिइन्। नेतृत्वसँगै मातृत्व लिने आँटिली रन्जु मतदातासँग सोमबारसम्म भेटघाटमै व्यस्त रहेको उनका श्रीमान् किशु कुईकेलले बताए।
चिकित्सकले डिलेभरी समय फागुन १८ गते तोकेको थियो। एक साता तलमाथि पर्न सक्ने भनी चिकित्सकले बताएका पनि थिए। ‘सोमबार बेलुका प्रसव पीडा भएपछि सिभिल अस्पताल पुर्याएँ। नर्मल नै डिलेभरि हुने लागेको थियो तर पछि अप्ठ्याराहरू देखिएकाले सर्जरी गर्नुपर्ने चिकित्सकले सुझाव दिनुभयो,’ किशुले अस्पतालबाटै नागरिकसँग भने, ‘छोरा ३ केजी १ सय २० ग्रामको छ। आमा छोरा दुवै स्वस्थ्य हुनु हुन्छ।’
उनले जोड दिए, ‘अब निर्वाचनको एक साता बाँकी छ। मलगायत राष्ट्रिय स्वतन्त्रपार्टीका साथीहरू मिलेर चुनावी प्रचारप्रसारको कार्यक्रमलाई अगाडि बढाउँछौँ। रन्जुजीले चिन्ता लिनु पर्ने कुनै कुरै छैन।’ १७ वर्षको उमेरमा राजनीतिमा लागेकी रन्जु २१ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाका मेयर पदमा प्रतिस्पर्धामा थिइन्। त्यति बेला उनले २४ हजारभन्दा बढी मत प्राप्त गरेकी थिइन्।
९ महिनाको गर्भ बोकेर उनी मतदाताकहाँ घरदैलो कार्यक्रममा निकै फुर्ति र जोशका साथ सहभागिता भएको देख्दा मतदाताले 'हिम्तवाली' भनेर उनलाई थप प्रेरणा दिँदा उनलाई थप ऊर्जावान् बनाएको उनको अनुभव छ। ‘वाक विथ रन्जु’ अभियानमा रन्जुसँगै मतदाता पनि हिँडिरहेकाले रन्जुलाई थप प्रोत्साहन मिलेको छ।
१७ वर्षको उमेरमा राजनीतीमा होमिएकी रन्जुले अब कुनै पनि युवाहरू विदेशिनु नपर्ने गरी नेपाल बनाउन पनि आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको सुनाइन्।
‘अघिल्ला निर्वाचनहरूको अनुभवले मलाई निकै अनुभवी, परिपक्व र शान्त बनाएको छ,’ २९ वर्षीय रन्जुले नागरिकसँग भनिन्, ‘सन्तानसँग छुटिएर बस्नुको पीडा सबैभन्दा ठूलो पीडा हो। यस कारण सन्तानसँग छुटिनु नपरोस् र कोही सन्तान बाध्य भएर विदेशिनु नपर्ने गरी नेपाल बनाउने मेरो चाहना हो।’ उनी थप्छिन्, ‘छाडेर जाने होइन विदेशीहरू हेर्न र घुम्न आउने नेपाल बनाउने मेरो उम्मेदवार हो।’
४ वटा वडा रहेको यस क्षेत्रमा मतदाता संख्या ४८ हजार ४ सय ८९ रहेको छ भने उम्मेदवारहरूको संख्या २९ छ। यस्तै, चार जना महिला उम्मेदवार रहेका छन्।
मातृत्वसँग नेतृत्व लिने चाहना बोकेर म चुनावी मैदानमा उत्रेकी रन्जु मातृत्वको सफतापछि अब थप हौसलाका साथ नेतृत्व लिने उत्साह उनमा बढेको उनको श्रीमान् किशुले बताए। रन्जुले पनि श्रीमान् र साथीभाइको साथले आफू जित्ने निश्चित बनेको विश्वास व्यक्ति गरिन्।
‘हुन त छोराको नाम सबैले स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी राख्ने जोड दिँदै हुनु हुन्छ,’ किशु हाँसो गर्दै भने, ‘अहिलेसम्म नामकरण सोचिएको छैन। नामकरणबारे छलफल भइरहेको छ।’
प्रकाशित: १२ फाल्गुन २०८२ १४:२७ मंगलबार