समाज

रमा हत्या प्रकरणः बिहारका पण्डित पक्राउ

झापाको दमकमा मृत भेटिएकी रोमा भनिने रमा तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २० वर्षीया रमाको शव गत जेठ १६ गते दमक नगरपालिका–१० स्थित रतुवा खोला किनारमा बोरामा भेटिएको थियो।  

झापाकी एसपी बसुन्धरा खड्काले भारत बिहार घर भएर दमक बस्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डितलाई नियन्त्रणमा लिएको बताइन्। कोशी प्रदेश प्रहरी कार्यालयको सहयोगमा दमकका डीएसपी हरिबहादुर बस्नेत नेतृत्वको टोलीले उनलाई जेठ २१ गते पक्राउ गरेको हो ।

टायल्स मिस्त्री पण्डितले बाटोमा भेटेकी रमासँग पैसाको विषयमा विवाद हुँदा जेठ १३ मा साँझ मूल सडकबाट भित्र बाँसघारीमा लगेर हत्या गरेको वयान दिएका छन्। विवादका क्रममा रमाले प्रहरीलाई भन्ने बताएपछि डरले घाँटी थिचेर हत्या गरेको र हत्यापछि पाइपले घाँटीमा कसेर बोरामा बाँधी खोलामा फ्यालेको पण्डितले स्वीकारेको खड्काले जानकारी दिइन्।  

रमाको हत्यामा संलग्न ‘प्रेमी पक्राउ’ शीर्षकको समाचार सार्वजनिक भएपछि पण्डित पक्राउ नपर्ने ठानेर नेपाल फर्केको र सोही समय पक्राउ गरेको एसपी खड्काले बताइन्। 

प्रकाशित: २२ जेष्ठ २०८३ २०:२९ शुक्रबार