समाज

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

‘बाढी आइरहेको छ, हेर त।’ रातभरको काम सकेर कोठामा फर्किएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए। बाहिर निस्केर हेर्दा आफूहरू बसेको स्थानभन्दा करिब ८० मिटर तल रहेको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो।

रसुवामा साढे दुई वर्षदेखि काम गर्दै आएका राजेन्द्रलाई त्यहाँको खोलाको सामान्य अवस्था थाहा थियो। त्यस बिहान भने अवस्था फरक देखियो।

रातिको काम बिहान ६ः०० बजे सकेर कोठामा फर्किएका उनले हातमुख धोएर खाजा खाएका थिए। केहीबेर आराम गर्दै गर्दा साथीले बाढी आएको खबर गरेका थिए।

खोलाको अवस्था देखेपछि उनी हतारिँदै कोठामा फर्किए। रातिको ‘ड्युटी’ सकेर सुतेका सालो नवीन स्याङ्तान र अर्का साथीलाई उठाए। तीनै जना सुरक्षित स्थानतर्फ भाग्न थाले तर केही क्षणमै भाग्ने बाटो पनि बाढीले छेक्यो।

‘बाटोतिर भाग्न खोज्दा त्यतैबाट बाढी आयो। बम पड्किएजस्तो आवाज थियो, ठूला–ठूला ढुङ्गा आइरहेका थिए’, त्यो क्षण सम्झँदै राजेन्द्रले भने, ‘हामी बसेको कोठाबाट निस्किएर भाग्दा–भाग्दै कोठा नै गइसक्यो। त्यहाँ सुतेका मान्छे उठ्नै पाएनन्।’

भाग्ने बाटो बन्द भएपछि राजेन्द्रसहितका कामदार नजिकै चिनियाँ कामदार बस्ने मेसतर्फ पुगे। त्यहाँबाट पनि माथि उक्लने सहज बाटो थिएन।

बाढीले संरचना भत्काइरहेको थियो। तल राखिएका सिलिन्डरलगायत सामग्री बगिरहेका थिए। चारैतिर भागदौड र चिच्याहट थियो।

त्यस क्षण आफू बाँच्ने आशा पनि मारिसकेको राजेन्द्र सुनाउछन्। ‘अब बाँचे बाँच्छौँ, मरे मर्छौँ भन्ने भइसकेको थियो। भाग्ने ठाउँ थिएन’, उनले भने।

त्यही निराशाबीच उनले बाहिर निस्कने उपाय खोजे। एउटा ढोका फोरेर झ्यालबाट निस्किएपछि पर्खाल चढेर माथि पुगे। आफू माथि पुगेपछि उनले तल फसेका साथीलाई एकपछि अर्को गर्दै माथि तान्न थाले।

सुरुमा एक चिनियाँ कामदारलाई निकाल्ने प्रयास गरे। तर सफल हुन् सकेन। त्यसपछि साथी सुजन गोलेसहित अरूलाई ताने। अन्तिमतिर आफ्नै सालो नवीन आत्तिएर माथि आउन सकिरहेका थिएनन्।

‘मैले बोलाएको बोलायै गरेँ। बल्ल ऊ आयो र उसलाई पनि तानेँ’, राजेन्द्रले भने, ‘त्यसरी सात जनालाई माथि तानेर बचाउन सकेँ।’

हेटौँडा उपमहानगरपालिका–१५ का नवीन कामका लागि रसुवा पुगेको १२ दिन मात्रै भएको थियो। पहिलोपटक कामका लागि त्यहाँ पुगेका उनी पनि रातिको ड्युटी सकेर कोठामा सुतिरहेका थिए।

‘म सुतिरहेको थिएँ। भिनाजुले उठाएर लैजानुभयो। उहाँले तानेर नै म बाँच्न सफल भएँ’, नवीनले भने, ‘धेरै साथी आँखा अगाडि नै बाढीमा परे, हामी चाहीँ बाँच्यौँ।’

बाढीबाट तत्काल ज्यान जोगाएर माथिल्लो सुरक्षित स्थानमा पुगेपछि राजेन्द्रले घरमा फोन गरे। मोबाइलमा पर्याप्त चार्ज थिएन।

परिवारसँग लामो कुराकानी गर्ने अवस्था पनि थिएन। आफू बाँचेको र चिन्ता नगर्न परिवारलाई जानकारी गराएपछि उनको मोबाइल बन्द भयो।

राजेन्द्रकी श्रीमती करिश्मासिंह तामाङका अनुसार बाढी आएपछि श्रीमान्सँग केही मिनेट कुराकानी भएको थियो। त्यसपछि सम्पर्क टुट्यो।

‘सम्पर्क गर्न धेरै प्रयास ग¥यौँ तर फोन लागेन’, उनले भने, ‘उहाँले ‘म सुरक्षित छु, चिन्ता नगर’ भन्नुभएको थियो। त्यही कुराले उहाँ फर्केर आउनुहुन्छ भन्ने आशा थियो।’

करिश्माका लागि चिन्ता श्रीमान्को मात्रै थिएन। बाढी प्रभावित क्षेत्रमा उनका भाइ नवीन पनि थिए। श्रीमान् र भाइ दुवैको अवस्था बुझ्न नपाउँदा परिवारका सदस्यको चिन्ता दिन बित्दै जाँदा बढिरहेको थियो।

राजेन्द्र र नवीन भने बाढीबाट जोगिएपछि अन्य कामदारसँगै माथिल्लो क्षेत्रतर्फ लागेका थिए। तत्काल बाहिर निस्कने अवस्था नभएपछि उनीहरूले स्थानीय विद्यालयमा आश्रय लिए।

राजेन्द्रका अनुसार पाँच दिनसम्म त्यहीँ बसेर छैटौँ दिनमा उद्धार गरिएको थियो। त्यो अवधिमा सहज खाना र बसोबासको व्यवस्था थिएन। बिस्कुट, चाउचाउलगायत उपलब्ध खानेकुराको भरमा दिन बिताउनुपरेको उनले सुनाए।

बाढीमा सहकर्मी गुमाएको पीडा र आफू कहिले घर पुग्ने भन्ने अनिश्चितताबीच उनीहरू उद्धारको प्रतीक्षामा थिए।

हेटौँडामा परिवार भने उनीहरूको अवस्थाबारे थप जानकारी खोजिरहेको थियो। हेटौँडा उपमहानगरपालिका–१५ का वडाध्यक्ष सुनिल मोक्तानका अनुसार राजेन्द्र र नवीनको अवस्था पत्ता लगाउन विभिन्न निकायसँग समन्वय गरिएको थियो।

गृह मन्त्रालय र मुख्यमन्त्रीको सचिवालयदेखि जिल्ला प्रशासनसम्म समन्वय गरेर उनीहरू सुरक्षित रहेको प्रमाण खोजिएको उनले बताए। त्यसक्रममा सुरक्षित स्थानमा बसेका व्यक्तिहरूको एउटा भिडियो प्राप्त भयो।

मोक्तानले उक्त भिडियो परिवारलाई पठाए। भिडियोमा आफ्ना मान्छे छन् कि छैनन् भनेर हेर्न आग्रह गरेपछि परिवारले नवीनलाई चिन्यो।

‘भिडियोमा आफ्नो मान्छे देखिएपछि मात्रै हामी ढुक्क भयौँ’, वडाध्यक्ष मोक्तानले भने। त्यसपछि पनि उनीहरूलाई सुरक्षित रूपमा फर्काउन विभिन्न निकायसँग समन्वय जारी राखिएको उनले बताए।

अन्ततः नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूको उद्धार भयो। राजेन्द्रका अनुसार हेलिकप्टरले उनीहरूलाई धुन्चेसम्म ल्याएको थियो। त्यसपछि सवारीसाधनमार्फत काठमाडौँ हुँदै उनीहरू हेटौँडा फर्किएका हुन्।

धेरै दिनको प्रतीक्षापछि राजेन्द्र र नवीन सकुशल हेटौँडा फर्किए। राजेन्द्रकी सासूआमाले बाढी र त्यसपछिको अवस्था आफूलाई अझै सपना जस्तो लाग्ने बताइन्। ‘धन्न जोगिएर आउनुभयो। अरुलाई पनि जोगाउनु भएछ’, उनले भनिन्।

वडाध्यक्ष मोक्तानका अनुसार बाढीमा वडाका दुई जनाको मृत्यु भइसकेको छ भने हिरा स्याङ्तान अझै सम्पर्कविहीन छन्।

‘देश नै रोइरहेको बेला खुसी छौँ भन्न त नमिल्ला’, उनले भने, ‘तर हाम्रा दुई भाइ जीवित भएर फर्किनुभएको छ, त्यसमा हामीलाई राहत महसुस भएको छ।’

वडाले राजेन्द्र र नवीनको स्वास्थ्य उपचार तथा बाढीमा हराएका नागरिकतालगायत आवश्यक कागजात पुनः बनाउन सहयोग गर्ने मोक्तानले बताए।

रोजगारीले राजेन्द्रलाई साढे दुई वर्षदेखि रसुवामा राखेको थियो। नवीन भने काम थालेको १२ दिनमै विपत्तिमा परे। बाढीले उनीहरूका लत्ताकपडा र कागजात बगायो, सँगै काम गरेका धेरै साथी छुटे।

पाँच दिन विद्यालयमा उद्धारको प्रतीक्षा गरेर छैटौँ दिन बाहिरिएका राजेन्द्र र नवीन अहिले परिवारसँग छन्। बाढी आएको त्यो बिहान आफू बाँच्ने आशासमेत मारिसकेका राजेन्द्र घर फर्किँदा भने एक्लै बाँचेको अनुभव लिएर फर्किए।

आफू सुरक्षित स्थानमा पुगेर पनि फर्कीफर्की अरूलाई तानेका उनले आफ्नै भनाइमा सात जनाको ज्यान जोगाए। 

प्रकाशित: १८ भाद्र २०८३ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App