समाज

पाँच प्रदेशका एक-दुई स्थानमा चट्याङसहित वर्षा

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। 

आज राति देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्ने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भाग लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात तथा बाँकी पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

प्रकाशित: २१ चैत्र २०८२ १७:४० शनिबार