हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा समेत मनसुन विस्तार भएको छ।
यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर पूर्ण रूपमा फैलिएको छ।
नेपालमा साधारणतया जुन १३ तारिखमा पूर्वी भूभागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ। तर यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो गरी असार ५ गते पूर्वी भूभागबाट नेपाल भित्रिएको थियो।
आज बुधबार राजधानी काठमाडाैंसहित देशभर पूर्णतया बादल लाग्नेछ। देशका विभिन्न भौगोलिक क्षेत्रमा वर्षा र हिमपातको आकलन गरिएको छ।
महाशाखाका अनुसार हाल देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपात भइरहेकाे छ।
त्यस्तै, पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
आज विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने बताएको छ।
महाशाखाले मौसममा आएको यो परिवर्तन र वर्षाको जोखिमलाई मध्यनजर गर्दै सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।
प्रकाशित: १७ असार २०८३ १५:३४ बुधबार