बुधबार दिउँसो काठमाडौं र इलाममा वर्षा भइरहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। ती प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा समेत छिटपुट वर्षा हुन सक्ने विभागले जनाएको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागको विवरण छ।
विभागका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
प्रकाशित: २५ कार्तिक २०८३ १३:१३ बुधबार



